काठमाडौँ, साउन २१ गते । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारसँग सम्बन्धित महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ।
महानगरले १० वटा महानगर गौरव योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्ष २०८०/८१ मा गौरवका योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ र स्वर्णिम योजनाका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले आमनागरिकसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई महानगर गौरव र स्वर्णिम योजनाका रूपमा कार्यान्वयनमा ल्याइएको बताउनुभयो। गौरवका स्वर्णिम योजनालाई तीन वर्षभित्र सम्पन्न गरिने छ। महानगरको १३ औँ नगर सभाले यी योजनालाई पारित गरिसकेको छ।
महानगर गौरवका योजनामा उज्यालो सहर मेरो महानगर, महानगरले देख्छ, धुलोरहित सडक, रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि, मेरो रहर सुन्दर र हरित सहर, संस्कृति, सम्पदा र पर्यटन महानगरको धन, सुलभ स्वास्थ्य सेवा नागरिकलाई टेवा, सबैको चाहना ढुङ्गेधारा हिटी र पोखरीको पुनस्र्थापना, सुशासनका लागि अनलाइन सेवा र गरिखाने शिक्षा महानगरको इच्छा रहेका छन्।
त्यसै गरी स्वर्णिम योजना अन्तर्गत सुन्दर विद्यालय परियोजना, स्वच्छ भान्सा कार्यक्रम, खेलकुद पूर्वाधार परियोजना, एग्रो पुलिङ परियोजना, पूर्वाधार एम्बुलेन्स, एकल सेवा केन्द्र, श्रम बैङ्क, न्याय चौतारी, पिउने पानी तथा सार्वजनिक शौचालय, इरेन्टल, सुलभ फार्मेसी, यातायात तथा ट्राफिक कार्यक्रम रहेका छन्।
कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले नदी सफाइ, डुबान समाधान, ढुङ्गेधारा, हिटी र पोखरी संरक्षण, आरोग्य जीवन, मेट्रो मार्ट, साथी महानगर, स्मार्ट टोल, सांस्कृतिक सहर, पर्यटकीय सहर, सम्पदा मर्मत तथा संरक्षण कार्य, अनुसन्धान तथा अन्वेषण केन्द्र, सबैको योजना, सबैको विकास र सुन्दर महानगरलाई स्वर्णिम योजना अन्तर्गत सूचीकृत गरेर काम अगाडि बढाइएको बताउनुभयो।