गजेन्द्र गुरुङ
खजुरा, साउन २० गते । बाँकेको कोहलपुर नगरपालिकाले बेरुजु रकम असुली गर्ने भएको छ । नगरपालिकामा देखिएको ४३ करोड बढी बेरुजु रकम असुल गर्न लागेको हो ।
नगरपालिका स्थापना भएको २०७३ देखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभुती नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्यदेखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा लागिपरेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले बताउनुभयो ।
नगरप्रमुख आचार्यले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार सातसय ३७ रुपियाँ, असुलउपर गर्नुपर्ने बेरुजु एक करोड ४३ लाख ७८ हजार सातसय ४४ रुपियाँ र म्याद नाघेको पेश्की बेरुजु पाँच करोड ८० लाख ४३ हजार तीनसय पाँच रुपियाँ रहेको जनाएका छन् ।
नगरपालिकाले बेरुजु फर्छ्यौट गर्न तीन सय १४ जनालाई पत्र काटेको छ । नगरपालिका स्थापनादेखि गत आर्थिक वर्षसम्म असुलउपर गर्नुपर्ने बेरुजु फर्छ्यौटका लागि पदाधिकारी, निर्माण व्यवसायी, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा–उपशाखा तथा कर्मचारीको नाममा रहेको असुलउपर हुनुपर्ने एक करोड ४३ लाख ७८ हजार सात सय ४४ रुपियाँ असुलउपरका लागि तीन सय १४ जना व्यक्ति तथा संस्थालाई तत्काल बेरुजु फर्छ्यौट गर्न पत्र काटिएको कोहलपुर नगरपालिकाका नगरप्रमुख आचार्यले जानकारी दिनुभयो ।
नगरप्रमुख आचार्यले उक्त बेरुजु फर्छयौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिनुभएको बताउनुभयो । ‘यस आवको अन्त्यसम्म गत आर्थिक वर्षसम्मको ७५ प्रतिशत बेरुजु फर्छ्यौट हुने कुरामा हामी विश्वस्त छौं । सुशासन र जवाफदेहीता हाम्रो प्रमुख संकल्प हो’ उहाँले भन्नुभयो ।