सलिम मियाँ
बिजुवार, साउन १९ गते । प्युठान–भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो अझै सुचारु भएको छैन । बुधवार राति करिब १० बजेदेखि झरेको पहिरो अझै रोकिएको छैन । बाटोमा पहिरो झर्दा बाटो अवरुद्ध छ ।
पहिरो अहिले पनि झर्ने क्रम रोकिएको छैन । गर्जेनी भीरक्षेत्रको साँघुरो भित्ता काटेर सडक फराकिलो पार्ने क्रममा जमिन थर्किएर कमजोर बन्दा पहिरो झरिरहेको छ । एकै ठाउँमा पहिरो झरेको छ ।
चार वटा मेसिनको प्रयोगबाट जोखिम मोलेर पहिरो हटाउने प्रयास भैरहेको छ । पहिरोको केही भाग हटाए पनि फेरि माथिबाट ढुङ्गा माटो खस्दा समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
सडक डिभिजन कार्यालय प्युठानले आज पनि बिहानैदेखि बाटो खुलाउने काम जारी राखेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डीएसपी सुवास खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पन्छाउने काम चलिरहेको छ, अहिलेसम्मकै ठूलो सुख्खा पहिरो हो । सडकदेखि करिब ५० मिटरमाथि र बाटोको एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।”
पहिरो हटाउन सडक विभागका कर्मचारी र प्रहरी खटिएका छन् । ३६ घण्टा बितिसक्दा समेत पहिरो हटाउन नसकिएको प्रहरीको भनाइ छ । बड्डाडा–चकचके सडक कमजोर भौगोलिक बनावट भएका कारणले पहिरो झर्नेगरेको सडक डिभिजन प्रमुख राजीव श्रेष्ठले बताउनुभयो ।
सडक विस्तारको बेला ठूलो मेसिनले पहाड काट्ने काम गर्दा जमिन थर्किएर कमजोर भूभागलाई थप कमजोर बनाएर पहिरो झर्नेगरेको उहाँले बताउनुभयो । आकस्मिक मर्मत सम्भार अन्तर्गत पहिरो सफा गर्न बर्सेनी करिव ४० लाख रुपियाँ विनियोजन गर्दैआएको सडक डिभिजन कार्यालयले जनाएको छ ।
सडकमाथि चट्टानी भिी र तलतिर ठूलो माडी नदी भएकाले पैदलमार्ग समेत नहुँदा यात्रुलाई पैदलयात्रा गर्न समेत सकस भएको स्थानीयले गुनासो गरेका छन् । भालुवाङ–प्युठान तथा रोल्पाको एक मात्र सडक खण्डमा यसरी पहिरो खसेपछि आवतजावत गर्न समस्या भएको छ ।