• ३० वैशाख २०८२, मङ्गलबार

नदीजन्य पदार्थको राजस्व लक्ष्यभन्दा निकै कम

blog

लीलाधर वली 

घोराही, साउन १९ गते । दाङमा नदीजन्य पदार्थको राजस्व चुहावट हुँदा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन भएको छ। जिल्लाका १० पालिकाले गत आर्थिक वर्ष २०७९/८० मा नदीजन्य पदार्थ तथा खानीजन्य वस्तु बिक्री गरेर ६६ करोड ४९ लाख दुई हजार राजस्व उठाउने लक्ष्य राखे पनि जम्मा सात करोड २० लाख ६६ हजार रुपियाँ सङ्कलन भएको छ। 

लक्ष्य अनुसार ५९ करोड २८ लाख ३५ हजारभन्दा बढी राजस्व उठ्न सकेको छैन। पालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन हुँदा लक्ष्य अनुसारको राजस्व नउठेको हो। जिल्ला समन्वय समिति दाङले आयोजना गरेको आव २०७९/८० को वार्षिक समीक्षा गोष्ठी तथा आगामी योजना विषयक छलफल कार्यक्रममा जिल्लाका १० वटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थको राजस्व सङ्कलन कमजोर देखिएको छ।

जिल्लाका शान्तिनगर र दङ्गीशरण गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भए पनि अन्य पालिकाले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनन्। दङ्गीशरणले २५ लाख राजस्वको लक्ष्य लिएकोमा ३५ लाख ७४ हजार सङ्कलन गरेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो। शान्तिनगर गाउँपालिकाले पनि ६० लाख राजस्व उठाउने लक्ष्य लिएकोमा ७४ लाख २० हजार सङ्कलन गरेको छ।

प्राकृतिक स्रोत साधन भएर पनि अवैध रूपमा नदीजन्य पदार्थ रोक्न नसक्दा लक्ष्य अनुसार राजस्व उठाउन सकेका छैनन्। तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थबाट ४२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिए पनि एक करोड ४२ लाख ३४ हजार रुपियाँ मात्रै सङ्कलन गरेको छ। लक्ष्यको करिब ४० करोड ५७ लाख ६६ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको छ। 

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले लमही नपाले आठ करोड राजस्व उठाउने लक्ष्य लिए पनि ३२ लाख २६ हजार ९० रुपियाँ मात्रै सङ्कलन गरेको बताउनुभयो। नगर प्रमुख चौधरीले विभिन्न समस्याका कारण नदीजन्य पदार्थको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भएको बताउनुभयो। उहाँले भन्नुभयो, “नगरले नदीजन्य पदार्थको उत्खननका लागि आह्वान गरेको टेन्डर अनुसार कोही नआउनु र लामो समय नगरपालिका आन्तरिक विवादमा परेका कारण राजस्व सङ्कलन कम भएको छ।” 

गढवा गाउँपालिकाले चार करोडको लक्ष्य लिएकोमा जम्मा दुई करोड ३७ लाख, राप्ती गाउँपालिकाले तीन करोडको लक्ष्य लिएकोमा २३ लाख ७२ हजार रुपियाँमा मात्रै राजस्व उठाउन सकेको छ। घोराही उपमहानगरपालिकाले दुई करोड राजस्व उठाउने लक्ष्य लिएकोमा १२ लाख ८१ हजार, बबई गाउँपालिकाले ९८ लाखको लक्ष्य लिएकोमा ५८ लाख ८१ हजार ३१० रुपियाँ सङ्कलन गरेका छन्। 

बङ्गलाचुली गाउँपालिकाले ६० लाखको लक्ष्य लिएकोमा ४८ लाख ८८ हजार रुपियाँ मात्रै उठाउन सफल भएको छ। 

जिल्लाका १० वटा पालिकामध्ये अन्यले नदीजन्य पदार्थ बिक्री गर्ने गरेका छन् भने बङ्गलाचुली गाउँपालिकाले ढुङ्गा गिट्टी बिक्री गरेर १३ लाख ७४ हजार ३५० रुपियाँ तथा खानीजन्य स्रोत बिक्री गरेर ३५ लाख १३ हजार ८२४ रुपियाँ गरी ४८ लाख ८८ हजार १७४ रुपियाँ राजस्व सङ्कलन गरेको छ।