• ३० वैशाख २०८२, मङ्गलबार

सामुदायिक वनमै कुहिए काठ

blog

लीलाधर वली             

घोराही, साउन १८ गते ।  १३ वटा सामुदायिक वनको काठ काटेर घाटगद्दी (चाङ) लगाएर राखेको लामो समय बितिसक्दा पनि उठ्न सकेको छैन। जसले गर्दा बर्सात्को समयमा काठ भिजेर कुहिने जोखिम बढेको छ। २०७२ देखि २०७६ सालसम्म कटान भएका २० हजार ८८० क्युफिट काठ र ४२ चट्टा दाउरा सामुदायिक वनमा घाटगद्दीमै रहेको छ। लमही नगरपालिका–९ स्थित अमिलिया सामुदायिक वनमा ४२.८ क्युफिट काठ र १.५ चट्टा दाउरा, आमखोली सामुदायिक वनको १६३.४० क्युफिट काठ रहेको छ। 

त्यस्तै भीमबाँध महिला सामुदायिक वनको १६८०.४८ क्युफिट काठ र तीन चट्टा दाउरा, तेलिया सामुदायिक वनको १०८३.७६ क्युफिट काठ र ७.५ चट्टा दाउरा लामो समयसम्म उठ्न नसक्दा सड्ने अवस्थामा पुगेको छ। सोही वडाको गायत्री सामुदायिक वनमा १२४०.७६ क्युफिट गोलिया काठ र २.७५ चट्टा दाउरा, कुन्टा महिला सामुदायिक वनको ६७६.७५ क्युफिट काठ र पाँच चट्टा दाउरा, शिवशक्ति सामुदायिक वन तल्लो अमिलियामा दुई आर्थिक वर्षको गरी ९०६८.६८ क्युफिट गोलिया काठ उठ्न सकेको छैन। 

त्यस्तै सोही वनको तीन चट्टा दाउरा, १९५६.२८ क्युफिट काठ र दुई चट्टा दाउरा, लमही नगरपालिका–८ स्थित रहेको शिवशक्ति बाख्रा सामुदायिक वन समूहमा ८७१.९६ क्युफिट गोलिया काठ र ०.५ चट्टा दाउरा अझैसम्म बिक्री हुन नसकेको डिभिजन वन कार्यालय दाङ देउखुरीका सूचना अधिकारी छोटीलाल चौधरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार राजपुर गाउँपालिकाको गङ्गदी सबडिभिजन वन कार्यालय अन्तर्गत रहेको बेलघारी सामुदायिक वनमा १८०७.८४ क्युफिट गोलिया काठ र १.५ चट्टा दाउरा, चिसापानी सामुदायिक वनमा ३१०४.४६ क्युफिट गोलिया काठ र ३.५ चट्टा दाउरा, बेला सबडिभिजन कार्यालय अन्तर्गत रहेको शङ्कर सामुदायिक वनमा १८९९.९९ क्युफिट गोलिया काठ र २.२५ चट्टा दाउरा, ज्यामिरे सामुदायिक वनमा ११०७.३४ क्युफिट गोलिया काठ र एक चट्टा दाउरा काटेको लामो समय भइसक्दा पनि उठ्न सकेको छैन। 

गढवा गाउँपालिकाको सबडिभिजन कार्यालय अन्तर्गत रहेका खबरी सामुदायिक वनमा ४५.२२ क्युफिट गोलिया काठ र एक चट्टा दाउरा, कालिका सामुदायिक वनमा ११५.७९ क्युफिट गोलिया काठ र दुई चट्टा दाउरा धमिराले खाएको अवस्थामा छन्। 

सामुदायिक वन समूहले आन्तरिक प्रयोजनका लागि भन्दै काठ काट्ने गरेको तर उपभोक्तामा खपत हुन नसक्दा ती काठ घाटगद्दीमै अलपत्र अवस्थामा रहेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी चौधरीले बताउनुभयो। काठ बिक्रीभन्दा पनि कटानमा वन समूहले जोड दिँदा जिल्लाका धेरै सामुदायिक वनको काठ बिक्रीमा समस्या रहेको उहाँ बताउनुहुन्छ। उहाँले भन्नुभयो, “वन समूहका पदाधिकारीले काटेको काठ बिक्रीभन्दा रुख काट्नेमा मात्रै जोड दिँदा यस्तो समस्या आएको हो। वनमा काटेर राखेको काठ तथा दाउरा बिक्री नहुँदा एकातिर काठ कुहिएर खेर जाने तथा चोरी हुने जोखिम बढेको लमही–९ निवासी श्रीराम यादव बताउनुहुन्छ।