काठमाडौँ, साउन १८ गते । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’ मा अभिनेतृ सुरक्षा पन्त अनुबन्धित हुनुभएको छ । यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसक्नुभएको छ । यस्तै नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित हुनुहुन्छ ।
शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारको लाइनअप पूरा हुन लागेको निर्देशक शेर्पाले जानकारी दिनुभयो । निर्देशक शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो । फिल्ममा उहाँ स्वयम्को लेखन (कथा, पटकथा तथा संवाद) रहेको छ । यसअघि शेर्पाले थुप्रै सर्ट फिल्मको निर्देशन गरिसक्नुभएको छ ।
फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै अन्तिम टुङ्गो लगाइने निर्देशक शेर्पाले बताउनुभयो । बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने बताइएको छ । पुरुषोत्तम प्रधानको छायाङ्कन रहने फिल्ममा उहाँ निर्माताका रूपमा पनि जोडिनुभएको छ । तिहारलगत्तै छायाङ्कन गरिने यस फिल्मको बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा छायाङ्कन गरिने निर्माण पक्षले बताएको छ ।