• १३ साउन २०८१, आइतबार

खाना पकाउने ग्यासको आयातमा उल्लेख्य कमी

blog

काठमाडौँ, साउन १३ गते । गत आर्थिक वर्षमा खाना पकाउने एलपी ग्यासको खपत घटेसँगै आयातमा कमी आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा आव २०७९/८० मा सात अर्ब रुपियाँ बराबरको ग्यास आयातमा कमी आएको हो । आव २०७९/८० मा ५८ अर्ब १५ करोड ४१ लाख १४ हजार रुपियाँको  पाँच लाख १४ हजार ३४० मेट्रिक टन एलपी ग्यास आयात भएको छ । 

गत आवमा ६५ अर्ब ५५ करोड ९७ लाख चार हजार रुपियाँ बराबरको  पाँच लाख ३५ हजार ८६५  मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा ग्यासको आयात परिणाम र परिमाण दुवैमा कमी आएको विभागको तथ्याङ्क छ । एक वर्षमा बजारमा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ । नेपाल आयल निगमका अनुसार मासिक ग्यासको खपत ४२ हजार ६८१ मेट्रिक टन हुने गरेको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आर्थिक गतिविधि कम हुँदा ग्यासको खपत घटेसँगै आयातमा कमी आएको जानकारी दिनुभयो । विद्युत् आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको उहाँको भनाइ छ । 

निगमका अनुसार विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशत दरले बढ्ने गरेकामा गत आवमा भने खपत सुरुदेखि नै घट्दै गएको हो । नेपालमा खपत हुने कुल ग्यासमध्ये ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि प्रयोग हुने गरेको बताइएको छ । मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण  ठुला रेस्टुरेन्टमा कारोबार घटेकाले ग्यासको खपतमा कमी आएको उहाँको भनाइ छ । पछिल्लो समय  विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । 

बिजुलीभन्दा सस्तो पर्ने र पकाउन छिटोछरितो हुने हुँदा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुन थालेकाले ग्यासको खपत घट्न गएको उद्योगीको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले  व्यावसायिक प्रयोगमा ग्यासको खपतमा गिरावट भएको जानकारी दिनुभयो । आर्थिक सङ्कटका कारण होटल, रेस्टुरेन्टको व्यापारमा कमी हुनु, विद्युत्को  आपूर्ति नियमित हुनु, बढ्दो महँगीले गर्दा सर्वसाधारणले खर्च कटौती गर्दा खपत कम हुन गएको उहाँको भनाइ छ । 

औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यासमा विशेष गरी सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ । यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्यासको प्रयोग हुने गर्छ । ग्यास प्रयोग हुने उद्योगहरू आर्थिक मन्त्रीका कारण पूर्ण रूपमा चल्न नसक्दा खपतमा कमी आएको व्यवसायीको भनाइ छ । बजारमा विद्युत्को प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी भएसँगै आयातसमेत खस्किन थालेको छ । ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएको पाइन्छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् । पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर गाउँ गाउँमा समेत ग्यासको प्रयोग बढ्दै गएको छ । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ७९० रुपियाँ रहेको छ ।