नारद कोहार
तौलिहवा, साउन १३ गते । बुद्धको जन्मस्थल लुम्बिनीनजिक रहेका पुरातात्त्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बग्दै गएका छन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै रहेका पुरातात्त्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएको हो ।
केही वर्षयतादेखि दानव नदीले नगरपालिकाको सो क्षेत्रमा अनियन्त्रित कटान सुरु गरेपछि जमिनमुनि लुकेर रहेका प्राचीन अवशेष लगातार नदीमा विलय हुँदै गएको छ । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सिक्का मात्र भेटिन्थे तर २०५७ सालतिर धार परिवर्तन भई नदी कटान बढेपछि सो क्षेत्रमा विभिन्न पुरातात्त्विक महत्वका संरचना प्रत्यक्ष फेला पर्न थालेका छन् ।
प्राचीन समयमा त्यस ठाउँमा पम्पापुर नामक सुन्दर नगर रहेको स्थानीय किंवदन्ती छ । त्यस बखत हैजाको प्रकोपबाट धेरै जना मासिए भने अन्यले नगर छोडेर अन्यत्र भागेको पनि स्थानीयको विश्वास छ । कसैकसैले नगरलाई दानव नदीको बाढीले पुरेको मिथक पनि सुनाउँछन् ।
“२०६८ सालमा नदीछेउमा पाँच फिट जति अग्लो रिङ भेटिएको थियो,” स्थानीय सीताराम मल्लाहले भन्नुभयो, “हामीले विकास कोषलाई भन्यौँ तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन । त्यो पनि नदीले बगाइसक्यो ।”
नदी कटान हुनुअघि धेरै पुराना घर, माटाका भाँडा, बाकस, सुनचाँदी, मन्दिर, इनार भेटिन्थे । कुनै कुनै इनारमा मानिसका कङ्काल देखिएको स्थानीयवासी बताउँछन् । “यहाँ ३०, ४० वटा इनार थिए,” स्थानीयवासी सन्तोष गुप्ताले भन्नुभयो, “दशकअघि उचाल्न नै नसक्ने एउटा ठुलो बाकस भेटिएको थियो । त्यो पनि बर्खेभेलमा बग्यो ।”
नदी कटानले जमिनमुनिबाट देखिने माटोका भाँडालगायतका वस्तु हर्पण सभ्यताको समकालीन भएको बताइन्छ । लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले पुरातत्वशास्त्री एसबी देवले पनि अध्ययनका क्रममा यस क्षेत्रमा रहेका माटाका संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँ देखिने तह मानव बस्तीका संरचना हुन् । प्रत्येक तहपिच्छे यहाँ मानिस बसेको भन्ने पुष्टि हुन्छ ।” माटाका भाँडा लगायतका केही वस्तु स्थानीयवासीले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएका थिए । सो क्षेत्रसँगै बुद्ध जीवनीसँग सरोकार राख्ने रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै २३५ भन्दा बढी पुरातात्त्विक सम्पदा पत्ता लागेका छन् । सन् १९६४ मा भारतीय पुरातत्वशास्त्री एसबी देवले यस क्षेत्रको अध्ययन गर्नुभएको थियो । त्यो बेला उत्खननका क्रममा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरीलगायतका सामग्री पाइएको थियो ।
पुरातत्वविद् वसन्त बिडारीका अनुसार सन् १९६४ पछि सो स्थलमा कुनै पनि पुरातात्त्विक गतिविधि नभएको बताउनुभयो । उक्त क्षेत्र निजी जग्गा भएकाले जग्गाधनीलाई पुरातात्त्विक स्थलबारे जानकारी गराउनुपर्ने भन्दै उहाँले यसको संरक्षणका लागि पुरातत्व विभाग र लुम्बिनी विकास कोषको संयुक्त प्रयास हुनु जरुरी रहेको बताउनुभयो । पुरातत्व विभागका वरिष्ठ पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले बुद्ध जन्मस्थल लुम्बिनीदेखि करिब १० किलोमिटर दक्षिणमा अवस्थित बन्जरही एउटा महत्वपूर्ण पुरातात्त्विक स्थल रहेको बताउनुभयो । उहाँले बन्जरहीको नक्साङ्कन, ड्रोन फोटोग्राफीलगायतका कार्य सम्पन्न भइसकेको उल्लेख गर्दै आगामी दिनमा भूभौतिक सर्वेक्षण गर्ने कार्य गरिने बताउनुभयो ।