• १३ साउन २०८१, आइतबार

फुटपाथको व्यापारले दैनिक २० हजारसम्म आम्दानी

blog

सिजन अनुसार आँप उखु लगायत उत्पादनको व्यापार गर्दै स्थानिय । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे
हिले (धनकुटा), साउन ९ गते । 
धनकुटा नगरपालिका वडा नम्बर ९ गुठिटारका पदमबहादुर राई आफैँ गोलभेँडा उत्पादन गर्दै आफैँ कोशी राजमार्गमा बिक्री गर्नु हुन्छ ।

करिब ५ रोपनी क्षेत्रफलमा टमाटर खेती गर्दै आउनुभएको राईले आफैँ उत्पादन गर्नु हुन्छ र  आफैँ बिक्री गर्नु हुन्छ । कहिले गोलभेँडाको मूल्य एक सय रुपियाँसम्म पुग्छ भने कहिले १५/१६ रुपियाँमा पनि बिक्री गर्नुहुन्छ । तर बजारको समस्या भोग्नु परेको उहाँ बताउनुहुन्छ ।

“जति उत्पादन हुन्छ आफैँ बिक्री गरिन्छ खरीतेलाई दिन पनि पर्दैन कमिसन खुवाउनु पनि पर्दैन” राईले भन्नुभयो । राईले वार्षिक तीन लाख बढीको टमाटर बचेर घर व्यवहार चलाउँदै आएको बताउनुहुन्छ ।

कृषकलाई उत्पादनपछिको चुनौती हो, बजार । उत्पादनपछि कहाँ लगेर कसरी बच्ने कृषकको चिन्ताको विषय बन्न पुग्छ । तर धनकुटाको कोशी राजमार्ग आसपाका कृषकका लागि भने राजमार्ग नै ठुलो बजार बनेको छ । धेरैले राजमार्ग आसपास उत्पादन गर्छन् अनि राजमार्गमै बिक्री गर्छन् ।

धरान–धनकुटा र धनकुटा–हिले सडक खण्डलाई यहाँका किसानहले आफ्ना कृषि उपजहरू बिक्री गरेर जीविकोपार्जन गर्ने आधारका रूपमा प्रयोग गर्दै आएका छन् । राजमार्गको भेडेटारदेखि धनकुटाकै व्यापारिक केन्द्र हिले बजारसम्मको करिब ४५ किमी सडक  क्षेत्रमा अहिले किसानहरूले व्यापार गरेर जीवन गुजारा गरिरहेका छन् ।

सुनसरी, मोरङबाट भोजपुर, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट यातायातमा आवतजावत गर्ने यात्रुहरू उनीहरूका मुख्य ग्राहक हुने गरेका छन् । यसरी बिक्री गर्नेहरू कुनै महिना खालि बस्नु पर्दैन । यहाँ हामी सिजन अनुसारको व्यापार गर्छौ कहिले आँप, कहिले उखु कहिले बेल त कहिले सजिवन बिक्री हुने गरेको धनकुटा नगरपालिका–९ मलघाटका बिन्द्रमान लिम्बु भन्नुहुन्छ । कोही कृषक आफैँ आएर यही बसेर दिनभरि बेच्छन् भने कोही नभ्याउनेहरू व्यापारीमार्फत बेचाउँछन् लिम्बु थप्नु हुन्छ । 

धनकुटाको मुलघाटमा मात्र एक सयभन्दा बढिले यसरी व्यापार गर्दै आएका छन् । भेडेटारदेखि हिलेसम्म भने दुई सयभन्दा बढिले यसरी व्यापार गर्दै आएका छन् । अफसिजनमा चार हजारसम्म र सिजनमा दैनिक १५/२० हजारसम्मको सब्जी तथा फलफूलको कारोबार हुन्छ ।  हेर्दा फुटपाथको व्यापार देखिन्छ । तर यही फुटपाथमा बसेर स्थानीयले करोडसम्मको व्यापार गर्ने गरेका छन् । राम्रो व्यापार गर्नेले करोडसम्मको व्यापार गर्ने गरेको धनकुटा नगरपालिका–९ मलघाटका नवीन घिमिरे बताउनुहुन्छ ।

यहाँ स्थानीय स्तरमा उत्पादित मौसम अनुसारका ताजा तरकारी तथा फलफूल तराई र पहाडी जिल्लाका यात्रुहरूले कोसेली तथा घरायसी प्रयोजनका लागि लाने गरेका छन् । आफैँ उत्पादन गरेर वा छिमेकबाट सङ्कलित कृषि उपजलाई बेचेर यहाँका किसानहरू घर व्यवहारमा टेवा पुर्‍याउनेदेखि लिएर घरघडेरी जोड्न सफल भएका छन् । यसरी बेच्दा कृषकलाई धेरै फाइदा पुगेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर राना बताउनु हुन्छ । तर गुणस्तरमा भने ध्यान दिनु पर्ने उहाँको जोड छ ।

यहाँ सिजन अनुसारको व्यापार हुन्छ । धनकुटा र हिलेबीचमा बाह्रै महिना सब्जीको व्यापार हुने गरेको छ । तिहार आसपार फुलको व्यापार हुन्छ । त्यस्तै,  धनकुटा नगपालिका वडा नं.९ स्थित धरान–धनकुटा सडक खण्डमा पर्ने गुठिटार क्षेत्रको विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी किसान परिवारले टमाटर(गोलभेँडा) बेच्ने गरेका छन् । उनीहले सडक खण्डसँगै सोही वडामा रहेको टमाटरको पकेट क्षेत्र बेलहारा गाउँमा आफू र गाउँलेहरूले उत्पादन गरेको टमाटर बेच्ने गरेका छन् ।

धनकुटा नगरपालिकाको मूलघाट आँप र सजिवन(मोरिङ्गा)को पकेट क्षेत्र हो भने गाउँपालिकाको लेउतीटार उखुडाँडा  उखुको पकेट क्षेत्र हो । मुलघाटमा सिजन अनुसार आँप, उखु, बेल, सजिबन आदीको व्यापार हुन्छ । मूलघाटदेखि भेडेटारसम्म पनि फलफूल  र सब्जीको व्यापार हुने गरेको स्थानीय बत्ताउँछन् ।