• १३ पुस २०८१, शनिबार

नलगाडको डिपिआर तयार

blog

जाजरकोट समाचारदाता

जाजरकोट, साउन ९ गते । बहुप्रतीक्षित नलगाड जलविद्युत् आयोजनाको (विस्तृत योजना रिपोर्ट) डिपिआर प्रतिवेदन तयार भएको छ। ३१ महिनाभित्र तयार गर्ने सम्झौता भएता पनि सात वर्षपछि अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले उक्त डिपिआर तयार पारेको हो।

आयोजनाका कार्यकारी निर्देशक सुनील पौडेलले परामर्शदाताले दिएको अन्तिम प्रतिवेदन आयोजनाले अन्तिम जाँचका लागि एनइए इन्जिनियरिङलाई गरिएको आग्रह अनुसार उसले राम्रो भएको प्रतिक्रिया दिएपछि डिपिआरको काम पूरा भएको जानकारी दिनुभयो। निर्धारित म्यादभित्र काम नभएपछि पटक पटक म्याद थप गर्दा सात वर्ष बित्नै लाग्दा बल्ल डिपिआर प्रतिवेदन पाइएको हो। वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) लाई पूर्णता दिनका लागि इआइए स्वीकृत गर्न ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालयमा पठाइएको जनाइएको छ।

वन मन्त्रालयले सातदिने सूचना निकालेर पालिका तथा त्यहाँ रहेका वन समूहसँग राय सुझाव माग्ने तयारी भएको छ। उक्त सुझावलाई एक समिति बनाई निष्कर्ष निकाल्ने काम हुनेछ। डिपिआर र इआइएको सबै काम अस्ट्रेलियन कम्पनी स्मेक, अस्ट्रेलियाको एमडब्लुएच र नेपालको उदय जेभीले गरिरहेका छन्। आयोजनाका कार्यकारी निर्देशक सुनील पौडेलका अनुसार ४१७ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार लगानी जुटाउने प्रयास गरिएको छ। 

सुरुवातदेखि नै आयोजनामा लगानी गर्न जापान सरकारले रुचि देखाएको थियो। विभिन्न चरणमा सरकारको तर्फबाट जापान सरकारसँग लगानीका विषयमा छलफल भइरहेको भन्दै निर्देशक पौडेलले जानकारी दिनुभयो। 

आयोजना निर्माणका लागि एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ। वातावरणीय व्यवस्थापन अनुमानित लागत ५६ अर्ब रुपियाँ लाग्ने आयोजनाले बताएको छ। यो आयोजना निर्माण कार्य साढे छ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ। 

आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ। यो निर्माणस्थल समुद्री सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्नेछ। यहाँ ५४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय बन्ने छ। आठ हजार तीन सय मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ।

ऊर्जा सिँचाइ तथा जलस्रोतमन्त्री शक्तिबहादुर बस्नेतले डिपिआर तयारीसँगै आयोजना अघि बढ्ने र दातासँग सलफलका लागि बाटो खुलेको बताउनुभयो। नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले आयोजनाको डिपिआर निर्माणको कार्य सम्पन्न भएको खबरसँगै निकै खुसी भएको बताउनुभयो।