• ९ जेठ २०८१, बुधबार

भूमिहीनलाई लालपुर्जा वितरण

blog

हेटौँडा समाचारदाता

हेटौँडा, साउन ८ गते । मकवानपुरको बकैया गाउँपालिका–५ का ११ जना भूमिहीन र दलित परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जग्गाधनी पुर्जा वितरण गर्नुभएको हो। 

कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले भूमिविहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने काम महìवपूर्ण भएको भन्दै भूमिहीन र अव्यवस्थित बसोबासीलाई सरकारले व्यवस्थापन गर्ने बताउनुभयो। अहिलेको सरकार जनताको सरकार हो, भूमिहीन सुकुमवासी र दलित समुदायका साथै उत्पीडित समुदायलाई जग्गाधनी पुर्जा वितरण गर्ने र सुकुमवासीबाट मुक्त गर्ने अभियानमा सरकार लागेको उहाँले बताउनुभयो। 

सङ्घीय सरकारको नीति नियम र कानुन छ, उहाँले भन्नुभयो, “त्यसको अधीनमा बसेर जिल्लामा गठन भएका आयोगले स्थानीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाएको छ।” वास्तविक सुकुमवासी र भूमिहीन को हो त्यसलाई मात्र अहिले जग्गा उपलब्ध गराउने हो, त्योबाहेक अरू कसैलाई उपलब्ध नगराउनु होला उहाँले भन्नुभयो।

कार्यक्रममा सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सङ्घीयता स्थापना भएपछि निकै महìवपूर्ण काम भएको बताउँदै भ्रष्टाचार रोक्न र सुशासन कायम गर्न अहिलेको सरकारले काम गरिरहेको दाबी गर्नुभयो। लालपुर्जा वितरण कार्यक्रम बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको अध्यक्षतामा भएको थियो।

मकवानपुरमा ११९ जनाले पाए लालपुर्जा

नापी कार्यालय मकवानपुरका प्रमुख पूर्णहरि सुवेदीका अनुसार हेटौँडा उपमहानगरपालिका १३ का ६९ जना, बागमती गाउँपालिकामा ३९ जना र बकैया गाउँपालिकाका ११ जना गरी पछिल्लो समय मकवानपुरमा हालसम्म ११९ जना सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएका छन्। 

राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले हेटौँडा उपमहानगर, बागमती, बकैया र मनहरी गाउँपालिकामा भूमिसम्बन्धी समस्या रहेको बताउँदै तीन/चार महिनाभित्रै दलित र सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको बताउनुभयो। भूमि आयोग मकवानपुरले जिल्लामा भूमिहीन र अव्यवस्थित बसोबासी गरी ३६ हजार एक सय ६८ जना भूमिहीन सुकुमवासी रहेको जनाएको छ। 

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले पालिकाको वडा नं. १, ४, ६, ७ र ११ नं. वडामा जग्गाको नापजाँच भइरहेको जानकारी दिनुभयो। ऐलानी जग्गा नाप्ने काम भइरहेको भन्दै २०३२ सालमा नाप नक्सा भएको जग्गाको पनि लालपुर्जा प्राप्त भएको छैन, पालिका उपाध्यक्ष खत्रीले भन्नुभयो, “यहाँ ८० प्रतिशतसँग लालपुर्जा छैन।” मकवानपुरको बकैया १, २ र ५ सँगै सिमाना जोडिएको मधेश प्रदेशको बारा र रौतहटसँग सीमा विवादका कारण नाप जाँचमा समस्या भइरहेको उहाँले बताउनुभयो।