• ८ जेठ २०८१, मङ्गलबार

टिकौलीमा सारिँदै कृष्णसार

blog

शालिग्राम नेपाल 

चितवन, साउन ८ गते । पूर्वी चितवनको टिकौली जङ्गलमा कृष्णसार ल्याइने भएको छ। कृष्णसारको दीर्घकालीन संरक्षणका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा स्थानान्तरण गर्ने तयारी गरिएको हो। 

प्राविधिक पक्षको अध्ययन गरी रत्ननगर नगरपालिकाको टिकौलीमा कृष्णसार राख्न आवश्यक तयारीको काम सकिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिनुभयो। “कृष्णसारलाई आवश्यक पर्ने बासस्थानको निर्माण भइसकेको छ अब विभागले निर्देशन दिएपछि यहाँ ल्याउने छौँ,” उहाँले भन्नुभयो। कृष्णसार आगामी दसैँअघि नै स्थानान्तरण गर्ने गरी काम अगाडि बढेको उहाँले बताउनुभयो।

कृष्णसारका लागि पञ्चकन्या सामुदायिक वनको टिकौलीमा १८ हेक्टर क्षेत्रफलमा तारबार, घाँसेमैदान र दुई वटा पोखरी निर्माण भइसकेको छ। नगरपालिकाको प्रमुख संरक्षकत्वमा डिभिजन वन कार्यालय चितवनले यसको व्यवस्थापनको काम गर्ने छ। कृष्णसार व्यवस्थापनका लागि नगरपालिकाले गत आवमा ३८ लाख रुपियाँ विनियोजन गरेकोमा चालु आवमा ५० लाख रुपियाँ विनियोजन गरेको छ। 

“चितवनमा हात्ती, बाघ र गैँडाबाहेक अन्य जनावर पनि छन् भन्ने सन्देश दिने उद्देश्यले पनि हामीले कृष्णसार स्थानान्तरणको पहल गरेका हौँ। नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ,” नगर प्रमुख सापकोटाले भन्नुभयो। 

निर्माण गरिएको तारबार चितुवा, बाघ र हात्तीले भत्काउन नसक्ने गरी बनाइएको छ। यही सामुदायिक वनमा नगरपालिकाले हरियाली पार्कसमेत निर्माण गर्ने भएको छ। 

कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ। 

निकुञ्जका पूर्वसंरक्षण अधिकृत नारायण रुपाखेतीले कृष्णसारका लागि आवश्यक घाँसेमैदान, उसले खाने प्रजातिका वनस्पति र बासस्थान सबै व्यवस्था भइसकेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “म शुक्लाफाँटाको प्रमुख हुँदा त्यहाँको कृष्णसारलाई संरक्षण गरेर सङ्ख्या वृद्धि गरेका थियौँ। त्यहाँबाट चितवन ल्याउन सकेमा विकाससँगै संरक्षणमा टेवा पुग्छ।” 

कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढीपहिरोका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको उहाँले जानकारी दिनुभयो । 

वन तथा वातावरण मन्त्रालयको निर्देशनमा राष्ट्रिय निकुञ्ज विभागले कृष्णसार स्थानान्तरणका लागि हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक अध्ययन टोली बनाएको थियो। प्राविधिक टोलीले ‘टिकौलीमा कृष्णसार ल्याउन र टिकाउ सम्भव छ’ भन्ने प्रतिवेदन बुझाएपछि स्थानान्तरणको तयारी गरिएको हो।

विसं २०७७ मा अध्ययन सुरु भएर २०७८ देखि कृष्णसार ल्याउन पूर्वाधार निर्माणको काम तयारी सुरु गरिएको थियो। पहिलो चरणमा छ भाले र १२ पोथीसहित १८ कृष्णसार ल्याउने तयारी गरिएको छ।

“कृष्णसारको बासस्थानका लागि खुला घाँसेमैदान भएको ठाउँ उपयुक्त मानिन्छ। यसले काँस, दुबो, सिरु मन पराउँछ। कृष्णसारका लागि बयरको दाना र बुबुल पनि उपयुक्त घाँस हो,” डिभिजन वन कार्यालय चितवनका सहायक वन अधिकृत बालकृष्ण खनालले भन्नुभयो। उहाँले वन कार्यालयले कृष्णसारलाई मन पर्ने बयरलगायतका जातका बिरुवासमेत रोपेको जानकारी दिँदै अनुकूल हावापानी र वातावरण भएको समय पारेर स्थानान्तरण गरिने जनाउनुभयो।

निकुञ्जका पूर्वसंरक्षण अधिकृत रुपाखेतीले कृष्णसारलाई बिहान बेलुका चरनको स्थान, दिउँसोको चर्को घाम तापेर बस्न सक्ने, दर्के पानी पर्दासमेत थापेर बस्न सक्ने भएकाले चितवन उपयुक्त स्थान हुने भन्दै टिकौली क्षेत्रमा ७० प्रतिशत घाँसेमैदान रहेको जानकारी दिनुभयो।

कृष्णसार नेपालको संरक्षित वन्यजन्तु सूचीमा पर्दछ। बर्दियामा १९६ र कञ्चनपुरको शुक्लाफाँटामा २५६ गरी नेपालमा कृष्णसारको सङ्ख्या ४५२ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।