• ९ जेठ २०८१, बुधबार

महामारी बन्दै डेङ्गु

blog

काठमाडौँ, साउन ८ गते । नेपालमा डेङ्गु महामारीका रूपमा देखा परेको छ । दुई सातामै दुई हजार नौ सय डेङ्गुका बिरामी थपिएका छन् । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गु महामारी बढ्दै गएको बताउनुभयो । उहाँले शनिबार बेलुकीसम्म सुनसरीमा मात्रै दुई हजार पाँच सय जना डेङ्गुका बिरामी पुष्टि भएको जानकारी दिनुभयो । महाशाखाले गत असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत पुसदेखि एक हजार १९२ डेङ्गुका सङ्क्रमित थिए । त्यसयता सङ्क्रमितको सङ्ख्या चार हजार पुगेको बताउँदै उहाँले भन्नुभयो, “हामी डेङ्गु नियन्त्रणका लागि अहिले धरानमा छौँ ।” 

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । उहाँले स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने बताउनुभयो । सुनसरीमा शनिबार दुई हजार पाँच सय डेङगुका बिरामी पुष्टि भएका छन् । उहाँले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल धरानलगायतका अस्पतालमा डेङ्गुका बिरामीको चाप रहेको जानकारी दिनुभयो । 

सुनसरीमा दुई हजार पाँच सय, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाडौँमा ४६ जना, कञ्चनपुरमा ३९ जना, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना सङ्क्रमित भएको पुष्टि गरिएको छ । गत वर्ष नेपालमा ५४ हजार ७८४ जना डेङ्गुका बिरामी पुष्टि भएको थियो ।