इसापूर्व छैटौँ शताब्दीमा नेपालको लुम्बिनी वनमा शाक्य राजकुमार सिद्धार्थको जन्म भएको थियो । सिद्धार्थले २० वर्षको उमेरमै दुःखका कारण तथा ज्ञान प्राप्तिका लागि आफ्नो परिवार र राजदरबार नै त्यागे । पछि छ वर्षसम्म कठिन तपस्याले वैशाख पूर्णिमाको दिन बोधगयामा सम्बोधि लाभ गरी उनी बुद्ध भए ।
आफूले पाएको ज्ञान ठाउँ ठाउँमा धर्म प्रचार गर्ने तथा त्यस कार्यका लागि भिक्षुहरूलाई सङ्गठित गरी सङ्घ खोले । बुद्धले बहुजन हिताय बहुजन सुखायको महत्वाकाङ्क्षा लिई धर्म प्रचारका लागि गाउँ, नगर र विदेशमा गई मानव जीवनमा दुःखको पहिचान गर्न धर्मदेशनामा धेरै वर्ष व्यतीत गरे । यस्तै धर्म प्रचार गर्दागर्दै बुद्धले ८० वर्षको उमेरमा कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए ।
उनले समय समयमा दिएका उपदेश र सन्देश पवित्र बौद्ध धर्मग्रन्थका रूपमा आजसम्म अध्ययन गरिँदै आएको छ । बौद्धधर्ममा त्रिपिटकलाई धर्मग्रन्थ मानिन्छ । बौद्धहरूले मान्ने त्रिपिटकलाई विभिन्न जातजाति र राष्ट्रले थरी थरी तरिकाले अध्ययन गर्ने गरेको छ । नेपालमा पनि विभिन्न किसिमका बौद्ध मार्गीहरू थेरवाद, महायान र वज्रयान रहेकाले त्रिपिटकलाई विभिन्न नामले अध्ययन गरिन्छ ।
बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात् गाउँ, नगर तथा देशदेशान्तरमा दिएका उपदेश एकै ठाउँमा सङ्ग्रहित ग्रन्थ नै बौद्धहरूको सर्वाधिक प्रामाणिक बौद्ध वाङ्गमय र बौद्ध साहित्य त्रिपिटक हो । यसलाई हिमाली बौद्ध सम्प्रदायको अति पवित्र ग्रन्थ मानिन्छ । त्रिपिटकमा तिब्बती भाषामा तीन पवित्र सूत्रका रूपमा डुल्भा (विनय), डो (शुत्र) र छोसोन्पा (अभिधर्म) पर्दछन् ।
गौतम बुद्धको महापरिनिर्वाणको २३६ वर्षपछि तेस्रो सङ्गायन भएको थियो । उक्त सङ्गायनमा मौर्य सम्राट अशोकको समय इसापूर्व २४८÷४७ मा मौगलीपुत्त तिस्स महास्थविरको नेतृत्वमा विभिन्न स्थानमा पुग्यो । जस्तो गान्धार, काश्मिर, हिमवत्खण्ड र युनानमा धर्मदूतहरूबाट प्रचारप्रसार भयो । सम्राट अशोकले आफ्ना पुत्र महेन्द्र र छोरी सङ्घमित्रालाई धर्मदूतका रूपमा बौद्धधर्म प्रचारप्रसारका लागि श्रीलङ्का, बर्मा, थाइल्यान्ड पठाएका थिए ।
यसबाट भारतबाट अन्य क्षेत्र कम्बोडिया, तिब्बत, चीन, जापान, मङ्गोलियामा बौद्ध धर्मको प्रचारप्रसार हुन थाल्यो । इसाको प्रथम शताब्दीमा कुषाण सम्राट कनिष्कको पालामा चौथो सङ्गायन भएको थियो ।
तिब्बतमा बौद्ध धर्म :
तिब्बतमा सुरुमा बोन धर्मको बाहुल्य थियो । पछि तेत्तिसौँ राजा स्रोेङचङ गम्पोले इसा संवत्को ६४० तिर नेपालकी राजकुमारी भृकुटीसँग विवाह गरे । यस विवाहमा दाइजोका रूपमा उनले नेपालबाट अक्षोभ्य, मैत्रैय तारा जस्ता अनेक चन्दन मूर्ति लगेका थिए । अर्का राजकुमारी पनि बौद्धधर्मप्रति प्रभावित थिइन् । यी दुईको मित्रताले तिब्बतमा बौद्ध धर्म प्रचारप्रसार हुन निकै मद्दत मिल्यो । पछि तिब्बतमा लिपि र तिब्बती भाषाको व्याकरणको विकास भई पछि धर्मग्रन्थहरूको लेखन कार्य हुन थाल्यो ।
तिब्बती भाषामा अनुवाद :
तिब्बती र संस्कृत भाषा, लिपि विशेषज्ञ तथा व्याकरण ज्ञाता मोन्मी सम्भोट पोंले संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थ कारण्यब्युह, सूत्र, रत्नमेघसूत्र र कर्मशतक पहिलो पटक तिब्बती भाषामा अनुवाद गरे । यसपछि तिब्बती बौद्ध परम्पराका ख्याति प्राप्त विद्वान् आचार्य बुस्तानले लगभग ५० वटा ग्रन्थ लेखेका थिए । उनले तिब्बती भाषामा लेखेको ‘भोट देशमा बौद्ध धर्म इतिहास’ नामक पुस्तकमा कङ्ग्युर र तेङ्ग्युर भनी दुई भागमा बौद्ध वचन बाँडिएको छ ।
कङ्ग्युर के हो ?
तिब्बती भाषामा सक भन्ने शब्दको अर्थ हो वचन । यस्तै सत्नको अर्थ शास्त्र र कङ्ग्युरको अर्थ अनुवाद हो । सुरुमा तिब्बती भाषामा अनुवादित बुद्धवचनलाई एउटै स्थानमा राखी सक् कङ्ग्युर (कनजुर) भन्ने गरियो । भोट तिब्बती भाषामा ‘क’ भन्नाले बुद्धवचन जनाउँछ । ‘ग्युर’ भन्नाले अनुवाद भन्ने बुझाउँछ । यस्तै बुद्धवचनको अन्य आचार्यले लेखेका विभाषा, टीकाका साथै दर्शन, काव्य, वैद्यक, जोतिषी, देवसाधना, तन्त्र आदिलाई एकै ठाउँमा सङ्ग्रहित गरी राखेकोलाई नै सत्न तेङ्ग्युर भन्ने गरिन्छ ।
भोट भाषामा ‘तेन’ ले निधि र ‘ग्युर’ ले अनुवाद भन्ने जनाउँछ । तिब्बती इतिहासमा बुसेन रिम्पोछेको कङ्ग्युर र तेङ्ग्युर तयार गर्ने कामलाई अद्वितीय मान्ने गरिएको छ । कङ्ग्युर महायानी र वज्रयानी तन्त्रहरू समावेश गरिएको सङ्ग्रह हो । यस ग्रन्थमा जम्मा नौ भाग छन् भने नौ भागमा पनि एक हजार १०८ ग्रन्थ समावेश गरिएका छन् ।
तेङ्ग्युरलाई १७ भागमा विभक्त गरी त्यसमा ९२ भाग जातक शीर्षकमा आचार्यहरूको कृति पनि सङ्ग्रहित गरिएको छ ।
पहिले पहिले कङ्ग्युर र तेङ्ग्युरलाई काठको फल्याकमा लेखेर पुस्तकाकार दिइन्थ्यो । उक्त काठको पुस्तक कङ्ग्युर र तेङ्ग्युर ल्हासाको नारथाङ्ग गुम्बामा सुरक्षित छ । पछि इसं १४१० तिर चीनको पेकिङमा कङ्ग्युर र तेङ्ग्युर छापामा प्रकाशित गरियो ।
नेपालको उत्तरी हिमाली भेगको धेरैजसो गुम्बा शे गुम्बा (डोल्पा), क्यान्जिङ गुम्बा (लाङटाङ), नागे गुम्बा (बूढानीलकण्ठ) तथा काठमाडौँ, कीर्तिपुर, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा रहेका गुम्बामा चाडपर्वका बेला कङ्ग्युर र तेङ्ग्युर वाचन हुने गर्दछ । यस्तै घर घरमा बौद्ध लामा गुरुहरूद्वारा कङ्ग्युर र तेङ्ग्युर सङ्ग्रह गर्ने चलन छ ।
हरेक वर्ष ज्येष्ठ औँसीदेखि पूर्णिमासम्म गुम्बाहरूमा तथा अन्य स्थानमा साङ्गा दावाको अवसरमा कङ्ग्युर र तेङ्ग्युर त्रिपिटक वाचन गर्ने परम्परा छ । यस अवसरमा बौद्ध तिब्बतीहरूमा पाठपूजा, दान धर्म र पञ्चशील पालन गर्ने चलन छ ।
(लेखक सह–प्राध्यापक हुन्)