• १० पुस २०८२, बिहिबार

एक वर्षभित्र देशभरिका विद्यालयमा इन्टरनेट पुर्‍याउँछौं : मन्त्री शर्मा

blog

नेपाल टेलिकमको सेवासम्सबन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री रेखा शर्मा । तस्बिर : मन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

सिमरा, साउन ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुगाउने तयारी सरकारले गरिरहेको बताउनुभएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, प्रदेश मधेशले बाराको सिमरामा आयोजित  टेलिकमको सेवा प्रवाह र सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

उहाँले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुगाउने तयारी गरिएको बताउनुभयो । धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगेको र बाँकी विद्यालय तथा सबै वडासम्म चालु आर्थिक वर्षभित्र इन्टरनेट लग्नेगरी तयारी गरिएको उहाँले बताउनुभयो । 

आफूले मन्त्रीको पद वहाली गर्दा राजमार्गलाई पूर्ण दूरसञ्चारयुक्त बनाउने पहिलो निर्णय गरेको जानकारी दिंदै मन्त्री शर्माले यो निर्णय कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा हरेक प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने सरकारले निर्णय गरिसकेकाले यो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले नेपाल टेलिकमलाई आग्रह गर्नुभयो । 

पूर्वाधार निर्माणका क्रममा सरकारी नियकायबीच समन्वय नहुँदा समस्या आउनेगरेको उल्लेख गर्दै उहाँले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गर्नुभयो । जंगल तथा निकुञ्ज क्षेत्रमा टेलिफोन अप्टिकल विस्तार र टावर निर्माणमा समस्या भएको गुनासो आएको वन मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको पनि मन्त्री शर्माले जानकारी दिनुभयो ।

जहाँ बढी समस्या छ, त्यहाँ बढी सेवा दिनुपर्ने मान्यताको समस्या पहिचान गरी समाधानको खोजी गर्न मधेश प्रदेशबाट दूरसञ्चारको समस्या समाधानका लागि सुझाव संकलन अभियान सुरु गरिएको उहाँले जानकारी दिनुभयो । मधेश प्रदेशका बासिन्दाले देशको अर्थतन्त्रमा ठूलो योगदान गरिरहेको उल्लेख गर्दै उहाँले देशकै सबैभन्दा धेरै जनसंख्या रहेको मधेश प्रदेशमा नेपाल टेलिकमले सेवाग्राही विस्तारका लागि प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिनुभयो । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव एवं नेपाल टेलिकमका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्यहरु किसान श्रेष्ठ र ज्वालाकुमारी साह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायतले धारणा राख्नुभयो । 

कार्यक्रममा बारा, पर्सा, रौटहट र सर्लाहीका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएको टेलिकमको सेवा सुविधाबारे जानकारी गराउँदै सुधारका लागि सुझाव दिनुभयो । शुक्रवार मधेश प्रदेशका पूर्वी क्षेत्रमा रहेका चार जिल्ला सप्तरी, सिराहा, धनुषा र महोत्तरीका जनप्रतिनिधिसँग टेलिकमको सेवा सुविधाबारे जनकपुरमा छलफल गरिएको थियो ।


टेलिकमको प्रतिबद्धता

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०–८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र विभिन्न स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिनुभयो । मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउन आवश्यक सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो । 

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवावारेमा जानकारी प्रदान गर्दै सेवा प्रयोग बढाउनका लागि सहकार्य गर्न आग्रह गर्नुभयो । 

सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको बारेमा उप–प्रबन्धक नवल चौधरी, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उपप्रबन्धक समिरबहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था वारेमा उपप्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो । 

अन्तरक्रियाको अवसरमा उठेका विभिन्न जिज्ञासाहरुको वारेमा कम्पनीका प्रमुख व्यवसायिक तथा प्राविधिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान र प्रादेशिक निर्देशनालय, मधेश प्रदेशका निर्देशक अमुल प्रधानले जवाफ दिनुभएको थियो ।