• ८ जेठ २०८१, मङ्गलबार

विमानस्थल क्षेत्रको काठ बिक्रीबाट तीन करोड आम्दानी

blog

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ मोतियाहिस्थित सगरमाथा विमानस्थल निर्माण क्षेत्रमा रहेका रुखहरू कटान गरी बिक्रीका लागि घाटगद्दी गरी राखिएको । तस्बिर: भक्तिविलास

भक्तिविलास पोखरेल 

गाईघाट, साउन ५ गते । उदयपुरमा सगरमाथा आन्तरिक विमानस्थल निर्माण गर्नका लागि करिब १४ हजार सखुवाका रुख कटान सम्पन्न गरी काठ दाउरा बिक्री गर्न सुरु गरिएको छ । 

त्रियुगा नगरपालिका वडा नं १ र २ को जोगिदहस्थित कङ्ग र मोतियाही सामुदायिक वनको सीमाभित्र विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका सो परिमाणको रुख कटान गरी काठ दाउरा बिक्री गर्न थालिएको सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ । 

झन्डै ५० वर्ष पहिलेदेखिको उदयपुरवासी जनताको बहुप्रतीक्षित आयोजनाका रूपमा रहेको सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि अनेक प्रकारका कानुनी झन्झटहरू पार गरी अब भने बल्ल रुख कटानको काम सकेर काठ दाउरा बिक्रीको काम सुरु गरिएको मोतियाही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामश्रीष्ठ चौधरीले बताउनुभयो ।

वन तथा भू संरक्षण बिभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधारहरू निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भनी २०७८ माघ २४ गते सम्झौता सम्पन्न भए अनुसार नागरिक उड्डयन प्राधिकरणले रुख कटानको लागि बोलपत्र आह्वान गरी निर्माण व्यवसायीमार्फत सो क्षेत्रमा रहेका करिब १४ हजार थान हरियो रुख कटान गरेको हो ।

विमानस्थल निर्माणका लागि वन क्षेत्रमा छुटाइएको १५६ दशमलव ११ हेक्टर क्षेत्रफल मध्ये १०५ दशमलव १० हेक्टर क्षेत्रफलमा रहेका रुखहरू मात्र काटिएको र बाँकी रहेको ५० दशमलव ४१ हेक्टर क्षेत्रफलमा रहेका रुखहरू कटान नगरी यथास्थितिमा हरियाली कायम राख्नुपर्ने भएकोले सोही अनुसार योजना अगाडि बढाइएको अध्यक्ष चौधरीले बताउनुभयो । जस अनुसार विमानस्थल निर्माण गरिने क्षेत्रको

मोतियाही सामुदायिक वन उपभोक्ता समूहको ६२.३० हेक्टरको चार हजार ३५७ वटा र कङ सामुदायिक वन उपभोक्ता समूहको ४२.८० हेक्टर क्षेत्रमा रहेको विभिन्न जातको नौ हजार २८० वटा गरी १३ हजार ६३७ वटा सखुवाका रुख कटान गरी घाटगद्दी गरिएको छ । 

अहिले काठ ,दाउरा,कुकाठ र बलाबलीसमेत लिलाम बडाबडका आधार बिक्रीका लागि विभिन्न पत्रपत्रिका मार्फत टेन्डर आह्वान गरिएकोमा विभिन्न १८ वटा व्यावसायिक फमहरुले टेन्डर बिट गरेको र तोकिएको न्यूनतम मूल्यभन्दा पाँच गुणा बढीको मूल्यमा किन्न इच्छुक भएका फमहरुलाई तोकिएको रकम जम्मा भएपछि काठ दाउरा उपलब्ध गराइने अध्यक्ष चौधरीले बताउनुभयो । 

मोतियाहि सामुदायिक वन उपभोक्ता समूहलाई मात्रै पहिलो र दोस्रो लटको काठ, कुकाठ र बलाबली गरी करिब ९७ हजार सेप्टी काठ तथा एक सय ६६ चट्टा दाउरा बिक्रीबाट मात्रै तीन करोडभन्दा बढी रकम आम्दानी भएको अध्यक्ष चौधरीले बताउनुभयो ।