• १४ पुस २०८१, आइतबार

चढ्दै र बोक्दै साइकल पुगियो हेलम्बु

blog

साइकल यात्राको हुटहुटी दस वर्षको हुँदा नै भद्रपुर (झापा), राजविराज, सिक्किम, दार्जिलिङ, कालिम्पोङ, गुवाहाटी, सिलिगुडी, काँकडभित्ता, धुलाबारी, बिर्तामोड, विराटनगर आदि ठाउँहरू घुमेको सम्झना छ । आज लगभग ६० वर्ष हाराहारी उमेरको हुँदा पनि त्यस्तै घुम्न जाने कुरामा मन रमाउँछ तर साइकलमा । जे होस् यो उमेरमा यसरी घुम्ने रहर जागेकोमा अनि जोश र बलले अनि खल्तीले पनि साथ दिएकोमा म आफैँ खुसी हुन्छु । कतिपय मेरो उमेरका मानिस अलिकति हिँड्नुपरे खुइय्य गर्ने, बुढो भइयो अब हिँड्न सकिन्न भनिरहेका भेटिन्छन् । मलाई भने साइकलमा हेलम्बु जाने रहर पो जाग्यो त ! यसअघि साइकलमा नै बाग्लुङ, फाप्लु, हेटौँडा, नुवाकोट र धरान घुमिसकेको हुँदा हेलम्बुलाई अर्को गन्तव्य छान्ने आँट आएको थियो । 

म र मेरो जर्मन मित्र राइनर साइकलमा यात्रा गर्न सोखिन बनेका छौँ केही वर्षयता । नेपालका केही डाँडाकाँडा साइकलबाट यात्रा गरेको अनुभव छँदै थियो । हामीले हौसिएर एक वर्षअघि योजना बनायौँ– अब अर्को साल साइकलबाट हेलम्बु जाने । हेलम्बु काठमाडौँबाट धेरै टाढा नरहेको हिमाल नजिकको बस्ती, पर्यटकीय रूपमा निकै चिनिएको; यसले हामीलाई लोभ्याइरहेको थियो । हेलम्बु यात्रा साइकलबाट अलि चुनौतीपूर्ण योजना जस्तो साइकल सोखिन भए पनि हामीलाई लागेको थियो बाटो अलि असजिलो नै होला कि भनेर ।

हेलम्बु रोज्नुको मन 

हेलम्बु नै किन रोजियो भन्ने कारण छ । हामीले यात्रा गर्न चाहेका क्षेत्रको सूचीमा पिके पिक, दामन, लोमान्थाङ पनि थिए । मुख्यतः ह्योल्मो समुदायको बस्ती रहेको क्षेत्रलाई हेलम्बु भनिने रहेछ । अझ यसो भनौँ हेलम्बु एक ठाउँ वा गाउँ नभई ह्योल्मोको बसोबास रहेको क्षेत्र रहेछ ठाउँ ठाउँमा केही बस्तीहरू रहेको । र, यो हेलम्बु क्षेत्र सिन्धुपाल्चोक जिल्लामा पर्ने रहेछ । हाल हेलम्बु गाउँपालिका नै बनेको छ साबिकका हेलम्बु, किउल, पाल्चोक, महाँकाल र इचोक गाविसलाई मिलाएर १६९.२४ वर्ग किलोमिटर क्षेत्रफल रहेको । वेबसाइटमा देखियो– जनसङ्ख्या १७६७१ रहेछ । हेलम्बु काठमाडौँबाट उत्तरतिर जानुपर्ने र २०७८ सालको वर्षा सुरु हुँदाखेरि नै बाढी गएर सडक बिगारेको हुँदा साइकलमा जानु त्यति सजिलो होला भन्ने त लागेको थिएन । म हेलम्बु भेगको भूगोलसँग परिचित भएकाले व्यवस्थापनको हिसाबबाट सरल गन्तव्य हुने जस्तो लाग्यो । 

यसका साथै यो क्षेत्रमा आफूले कम बुझेको ह्योल्मो समुदायको बस्ती भएकाले उनीहरूको रहनसहन तथा केही हदसम्म मन पनि बुझ्न पाइने, प्राकृतिक दृश्य निकै सौन्दर्यपूर्ण रहेको हुँदा पनि मेरो मन चौ–चौ भएको हो । म खानेपानीमा काम गरिरहेको इन्जिनियर हुनाले मेलम्ची क्षेत्रमा २०७८ सालको वर्षा सुरु हुने ताकको बाढीले व्यापक रूपमा त्यो क्षेत्रको जलाधार क्षतिग्रस्त भएको हुँदा अवलोकन गर्नु उपयुक्त हुने लाग्यो । तदनुरूप हामीले योजना तय ग-यौँ सेप्टेम्बर २७ देखि ४ अक्टोबर २०२२ सम्म हेलम्बु क्षेत्रको यात्रा गर्ने ।

सहयात्रीहरू 

राइनर र मेरो परिचय पूर्वी टिमोरमा २००७ ताका भएको थियो । उनी विश्व बैङ्कतर्फका प्रमुख थिए भने म एक गैरसरकारी संस्था वाटर–एडको देशीय प्रमुख थिएँ पूर्वी टिमोरमा । उनले नेपाल आउने कार्यक्रम बनाएँ र त्यो बेला सँगै साइकल यात्रामा निस्कने कार्यक्रममा सहमत भयौँ । उमेश तामाङ हाम्रा वाहनमा समस्या आए, सुल्झाउने हर्कुलसको जिम्मेवारी दिएर लग्यौँ । 

यात्रा मार्ग

हामीले ७ दिनमा २६० किलो मिटर यात्रा गरेछौँ । ४० घण्टा साइकलको पाडल चलाएछौँ । २० हजार क्यालोरी त ऊर्जा नै खपत भएछ अर्थात् लागेको बोसो केही पग्लेछ । ७ हजार मिटर उकालो चढेछौँ । अचेल मोबाइलमा रहेका चुस्त सामग्रीले हाम्रा यात्राका यस्ता गुह्य र हिसाब गर्न कठिन सूचना राखेर हामीलाई अवगत गराएकाले पाठकहरूलाई बताउन पाइयो । 

हामी पहिलो दिन सुन्दरीजलको मुलखर्क, दोस्रो दिन चिप्लिङ, तेस्रो दिन कुटुम्साङ, चौथो दिन तार्केघ्याङ, पाँचौ दिन सेर्माथाङ, छैठौँ दिन जहर्सिङ पौवा हुँदै सातौँ तथा अन्तिम दिन काठमाडौँ आएर हाम्रो यात्रा टुङ्गिएको थियो ।

यात्रा मार्ग कुन लिने भन्ने साइकल यात्राका लागि बडो महìवपूर्ण हुने नै भयो किनकि पैदल हिँड्न सकिने सबै बाटो साइकलबाट यात्रा गर्दा काम लाग्दैन भने सधैँ मोटरको फेरो बाटो पनि चाहिन्न । अरू यात्रामा जस्तै साइकल यात्रामा पनि प्राकृतिक विविधता धेरै भएको मार्ग लिइयो भने बढी मजा आउँछ । खोलानालाको कलकल, चराचुरुङ्गीको चिरबिर सुन्दै जङ्गल, बस्ती, उकालो, ओरालो काट्दा थकाइको महसुस कम हुन्छ । एकै खालको परिवेश लामो भयो भने पट्यार लाग्न थाल्छ, थकाइ लाग्छ । यात्रामा महसुस यी कुरा विचार गर्दा हामीले छानेको मार्ग उपयुक्त परेछ । 

साइकलमा गरिने पर्यटकीय यात्रा प्रतियोगिता जस्तो हुनुहुन्न अर्थात् खाली साइकल हुइक्याउने मात्र । ठाउँ ठाउँमा सोधखोज गर्दै, गफ गर्दै जानुपर्छ । 

हुन त यो यात्रा पूरै अति नै रोमाञ्चक थियो तथापि यो यात्राका दुई स्थान अझ बढी रमाइला थिए । पहिलो, मूलखर्कबाट माथि धापसम्म । यो पूरै जङ्गल क्षेत्र छ । नागमती खोलाको किनारै किनार साइकल चलाउन सकिने बाटो जान्छ । गाडी पटक्कै नगुड्ने । खोला अति नै सफा, बालुवा पनि भएको । बाक्लो थियो जङ्गल । यो उचाइ (१४०० देखि १८०० मिटर) मा विभिन्न प्रकारका उच्च भूभागमा हुने रुखहरू उत्तिस, लालिगुराँस, विभिन्न प्रजातिका क्याक्टस तथा अर्किडहरू जङ्गलमा खुब देखिए । 

त्यसै गरी कुटुमसाङबाट तार्केघ्याङ (उचाइ १८०० देखि २६०० मिटर) अति मनमोहक खण्ड हो । कुटुमसाङबाट दायाँ लागेदेखि नै बाटो जङ्गलभित्र छिर्छ । यहाँका रुखहरू अग्ला अग्ला थिए । बाक्ला रुखहरूले सूर्यको किरणलाई नै छिर्न गाह्रो हुने हुँदा बाटो अलि रसिलो थियो भने यस क्षेत्रमा पानीका मुहान निकै भेटिए र ठाउँ ठाउँमा झरना थिए । आठ दस ठाउँमा साना साना खोल्सा तर्दै हामी साइकलमा अघि बढ्यौँ । ठाउँ ठाउँमा पहिरोले बाटो भत्काएको थियो । अलि कुहिरो लाग्ने भएकाले अर्किड प्रजातिका वनस्पति ठुल्ठुला रुखमा झुन्डिएका थिए । त्यसै गरी क्लाइम्बर (लहरे) प्रजातिका वनस्पति पनि जताततै देखिन्थे । लालिगुराँस र उत्तिस रुख पनि टन्नै रहेछन् । जङ्गलमा चराचुरुङ्गीको मिठो गुन्जनले हाम्रो यात्रा बडो आह्लादकारी बनाएको थियो । मनमनै हामी झैँ साइकल चढ्दै यो ठाउँ छिचोल्ने कति नै होलान् र भनी गौरव अनुभूति गरिरहेका थियौँ । प्रकृतिको जति नजिक पुग्यो, उति मन प्रफुल्ल हुन्छ । हिजोआज प्रकृतिको विनाश र दोहन हुँदै गएर यस्तो कुमारी प्रकृतिको समीप पुग्न पाउने चाहना नै कुण्ठित रहने अवस्था आउँदै गइरहेछ, लुकेको छैन ।

हामी कुटुमसाङबाट ओरालो लाग्यौँ । स्कुलनिर आइपुगेपछि त्यो मोडबाट इचोकतर्फ नगई बायाँ मेलम्ची घ्याङको भित्ता च्यापेर ओरालो लाग्यौँ । यो मोड नै यो यात्राको सबभन्दा विशेष मोड थियो । दायाँ लागेर इचोकतिर झरेको भए यो यात्रा खल्लो र कष्टदायी हुनेरहेछ भने बायाँ लाग्दा यात्रा नै रमाइलो र सजिलो भयो । मानिसको जीवनमा पनि कुनै मोड त्यस्तै हुन्छन्, सही मोड चुन्न सके आनन्द र सफलता हात लाग्छ भने अर्को मोडले चिन्ता र असफलता सिवाय केही दिन्न । गलत बाटो छान्न पुगेका कतिले जीवनभर पछुताएको देखेकै छौँ ।

बाटोमा एक दुई घर मात्र भेटिए त्यो बाटोबाट झरेपछि । अगाडि पहाडको भित्तोमा मेलम्ची नदीको बाढीको उद्गम मानिएको पहिरो देखिइरहेको थियो । निकै तल झरेपछि मेलम्ची खोला तर्ने झोलुङ्गे पुल भेटियो । याे पुल मात्र बचेको रहेछ, अरू त सबै पुल बगाएछ २०७८ साल असार सुरुको बाढीले । पुल तरेपछि साइकल चलाउन सकिने बाटो थिएन, त्यसैले साइकल काँधमा राखी एक हजार मिटर जति उकालोमा बोक्नु प-यो । आफूलाई बोक्ने साइकललाई उकालोमा बोकेर हिँड्नु गाह्रो नै काम हो तर पहाडतिर साइकलमा हिँड्दा बेलाबेलामा यस्तो पर्न सक्छ नै, त्यसैले हलुङ्गो होस् भनी स्टिलको नभई आल्मुनियम फ्रेम भएको साइकल किन्छौँ हामीले जुन अर्कोको तुलनामा निकै महँगो पो हुन्छ त ! त्यो दिन बेलुका बल्लबल्ल ६ बजे तार्केघ्याङ पुगियो बास बस्न ।

 म सम्झन्छु– तार्केघ्याङ र सेर्माथाङबिचमा ह्यन्गुइल बस्ती २०००– २६०० मिटरको उचाइमा छ । त्यहाँ रहेका उत्कृष्ट बनावटका स्तुपा र गुम्बा पूरै बस्तीका गहना हुन् । आँखामा नै टाँसिएला झैँ नजिकै हिमाली शृङ्खला र अग्ला डाँडा जताततै देखिन्थे, दृश्य त्यसै मन प्रफुल्ल बनाउने खालको थियो । 

गाँसबासको सुर्ता भएन 

यात्रा गर्दा हुने एक तनाव खाने र बस्ने बासको व्यवस्था कस्तो होला भन्ने नै हो । हेलम्बु पहिलेदेखि नै पदयात्राका लागि रोजिने क्षेत्र भएकाले यहाँ ठाउँ ठाउँमा बस्न र खाने व्यवस्था रहेछ । मूलखर्कको लोमो कार्मो विश्राम त चारतारे होटेल सरहको शयनकक्ष भएको अनि भोजन तथा ब्रेक फास्टको व्यवस्था भएको थियो, त्यो पनि उच्च कोटिको । यात्रा गर्ने, त्यो पनि अझ पहाडी उकालो ओरालोमा साइकल चलाउँदा खुब थकाइ र भोक लाग्छ, त्यो बेला राम्रोसँग खान र सुत्न पाइएन भने त यात्रा नै खल्लो हुन्छ । 

 लोमो कार्मो विश्रामघर जर्मनीको एक सामाजिक संस्थाले स्थापना गरिदिएको रहेछ । यसको आम्दानीबाट सोलुखुम्बुका विपन्न समुदायका बालबालिकालाई प्राथमिक शिक्षामा सघाउ पु-याउने उद्देश्यले । मूल बाटोबाट अलि भित्र भएकाले पैदल यात्रीको नजरबाट छुट्न सक्ने लाग्यो । भाउ उस्तो चर्को थिएन । त्यसै गरी बाटोमा पर्ने चिप्लिङ, कुटुम्साङ लगायतका ठाउँमा पनि बस्ने, खाने व्यवस्था राम्रै थियो । शयनकक्ष आरामदायी थिए भने खाना पनि राम्रै थियो । गाउँघरको यात्रा भए पनि सबैजसो ठाउँमा तातोपानीको व्यवस्था भएका बाथरुम भेटिए । साइकल यात्रा गर्दाका पसिना र थकाइ तातोपानीले मेट्न पाएपछि यात्रुलाई के चाहियो ! 

यो यात्रामा हामी पुगेको सबभन्दा अग्लो ठाउँ थियो तार्केघ्याङ । यहाँ घाम अलि ढिलो लाग्दो रहेछ पहाडले छेक्ने भएकाले । यहाँ पुगेपछि ‘लज आमा याङ्ग्री पिक’ मा आफूलाई बिसाएका थियौँ हामीले । यो त यहाँको सबभन्दा पुरानो लज पो रहेछ । लज भने पनि होटलले झैँ खानासमेत खुवाउँदो रहेछ यसले । ह्योल्मो समुदायको मौलिक खाना खुवायो । भान्सा कोठा, डाइनिङ व्यवस्था चिटिक्क परेको थियो भने पाहुना सत्कार बडो न्यानो र मौलिक खालको जुन बिर्सिन सकिन्न । एक ६–७ वर्षे केटोले त्यहीँकै मौलिक नाच देखाए हेलम्बु सम्झ्यो कि त्यो नाचको झल्को आइहाल्ने गरी । 

अर्को गन्तव्य थियो सेर्माथाङ । यहाँ घरबास (होम स्टे) चलाएका रहेछन् र हामी त्यता नै लाग्यौँ । बडो उत्कृष्ट व्यवस्था थियो । प्रत्येक घरमा एक दुईवटा कोठा पाहुनाका लागि छुट्याएका हुँदा रहेछन् । गाँस र बासको शुल्क पनि मुनासिब किसिमले राखेका । अन्त लाग्ने एक दिनको खर्चले यहाँ दुई दिन पुग्ने ! 

यात्रामा भेटिएका मानिस 

हाम्रो यात्रामा परेका ठाउँमध्ये सुन्दरीजलदेखि, मूलखर्क, चिसापानी, चिप्लिङ, बेतिनी अनि गोल्फु भञ्ज्याङसम्म तामाङ समुदाय बस्ती रहेछ । चिप्लिङमा हामी बसेको लज तामाङकै रहेछ । सहयात्री उमेश पनि तामाङ भएकाले उनीहरू आफ्नै भाषामा समेत कुरा गरे, र हामी पनि अलि खुलेर गफ गर्न पायौँ । 

कुटुमसाङदेखि माथिका बस्ती ह्योल्मो समुदायका भेटिए । उनीहरू आफ्ना पितापुर्खा तिब्बतबाट आएको मान्दा रहेछन् । उनीहरू आफूलाई शेर्पा भन्छन् र थर पनि शेर्पा नै लेख्छन् । उनीहरूको लवाइखवाइ तिब्बतीयन समुदायसँग नजिक रहेछ । पाहुना सत्कारमा ह्योल्मो समुदाय प्रख्यात भएका छन् थकाली समुदाय झैँ; र त स्वदेश, विदेशका पर्यटक खुब आउन रुचाउँदा रहेछन् । पर्यटकहरू निकै आइरहने हुँदा यहाँका बालबच्चा धर्मपुत्र, धर्मपुत्रीको रूपमा धेरै जना लगिएका थाहा पाइयो गफको सिलसिलामा । अनि जीवनस्तर पनि नेपालका अन्य ग्रामीण क्षेत्रको तुलनामा राम्रै रहेको लाग्यो । कुटुमसाङमा होटेलका मालिक ह्योल्मो थिए । उनीहरूसँगको कुराकानीको सन्दर्भ पाठकहरूलाई पस्किन चाहेँ रमाइलो नै होला भनेर । मैले आफू इन्जिनियर भनेर परिचय दिएँ अनि हेलम्बु साइकल यात्रामा आएको भनेर गौरवका साथ सुनाएँ राम्रै प्रभाव पर्ला भनेर ! कहाँ हुनु नि, उल्टो परेछ ! उनले भने, “इन्जिनियरले गर्दा मेलम्चीमा बाढी आएको भन्छन् हेलम्बुमा, त्यसैले आफूलाई इन्जिनियर नभन्नु पो भन्छन् यतातिर ।” म यो हो त्यो हो भन्ने कुराको खास अर्थ गाउँका मानिसलाई के हुन्छ र ! के मतलब, अनि किन भनिरहनु नै प-यो र ! 

आफू बसिरहेको सहर काठमाडौँ धेरै टाढा नगई ह्योल्मो समुदायको बिचमा पुग्न पाउँदा हामीलाई आफ्नो यात्रा सार्थक भएको लाग्यो । सायद यस्तै अनुभूतिको आसाले नै यस क्षेत्रतिर पर्यटन बढाएको होला ।

 तार्केघ्याङ र सेर्माथाङको होटल र घरबास व्यवस्था अनि उनीहरूसँगको भलाकुसारी बडो रमाइलो रह्यो । 

सेर्माथाङको घरबास उदाहरणीय थियो । पर्यटकलाई मन पर्ने गरी व्यवस्था गरिएको, यसले पर्यटनलाई राम्रै सघाउला । हामीले कुनै खोट लगाउने ठाउँ देखेनौँ । पर्यटन व्यवसायले महिलालाई प्रत्यक्ष रोजगारी दिएको रहेछ । हेलम्बु क्षेत्रको सबभन्दा ठुलो गाउँ यही नै रहेछ, झन्डै २०० घर परिवार रहेका । प्रत्येक घर घरबास सेवा प्रदान गर्न संलग्न रहेका । घर सिनित्त सुग्घर, पाहुना सत्कार बडो न्यानो । ।

यात्राको टुङ्गो

यात्राको छैठौँ दिन लामो यात्रा तय गर्नु थियो । सेर्माथाङबाट देवीचौर, मेलम्ची बजार, बाहुनेपाटी, नाङ्लेभारे हुँदै जहर्सिंह पौवामा आएर बास बस्याैँ । बिहान ८ बजेबाट बेलुका ५ बजेसम्म साइकलको काठीमा ५० किलोमिटरको दूरी पार ग-यौँ । जहर्सिंह पौवामा पुगेपछि राइनर ले “अब होटेल राम्रो नराम्रो होइन पाउनु मात्र प-यो भनेका थिए थकाइले चुर भएकाले । अरू बेला सफा फोहोर भनिरहने उसले यस पटक कोठा जाँच गर्ने जाँगर देखाएन । रमाइलै थियो ठाउँ । 

हिमाल नजिकै देखिन्थ्यो । हामी सन्तुष्ट थियौँ भोकमा खाना र थकाइ लाग्दा छाना भेटेकाले । अर्को दिन ब्रेकफास्ट खाइसकेपछि हामी काठमाडौँतिर झ-यौँ । यस्तै रमाइला अनुभव सँगालेर, कहीँ साइकलबाट बोकिएर र कहीँ साइकल बोकेर टुङ्ग्याइयो हेलम्बु यात्रा हामी तीन जना– राइनर, उमेश र मैले । 

 

Author

दिनेश वज्राचार्य