• १३ साउन २०८१, आइतबार

रत्न मन्दिरको सबै कक्ष हेर्न पाउनुपर्ने माग

blog

रत्न मन्दिर दरवारको भवन । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, साउन ३ गते । गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा रत्न मन्दिर दरबार सर्वसाधारणका लागि खुला गरियो । दरबार परिसर र केही स्थान खुला गरिए पनि दरबारको भित्री भाग भने अझै बन्द छ । आन्तरिक पर्यटकले सबै कक्षको अवलोकन गर्न पाउनुपर्ने माग गरेका छन् ।

राजा महेन्द्रले आफ्नी रानी रत्नाको नाममा २०१५ सालमा यो दरबार बनाएका हुन् । यो दरबारमा चीनका प्रधानमन्त्री, बेलायतकी महारानीजस्ता विशिष्ट व्यक्तित्व आएर आश्रय लिनुभएको थियो । दरबारभित्र बैठक कक्ष, राजारानी शयनकक्ष, शाही नातेदारका शयनकक्षहरु र डाइनिङ हल गरी ११ कोठा छन् ।  

टिकट काटेर रत्न मन्दिर हेर्न पुगेकाहरु दरबारको भित्री भागमा प्रवेश नपाउँदा खिन्न हुनेगरेको स्थानीयको बुझाइ छ । पोखरा, गगनगौडाका सुमनराज ढकाल हालसालै खुलेको दरबार हेर्न त्यहाँ पुगेको बताउनुभयो । बाहिर राम्रै भए पनि भित्री कक्षसम्म हेर्न नपाएको उहाँले बताउनुभयो । 

चितवनबाट पोखरा घुम्न आउनुभएका शशाङ्क न्यौपानेले पनि रत्न मन्दिरबारे सुनेर यहाँ आएको बताउनुभयो । एक सय रुपियाँको टिकट काटेर भित्र पसे पनि दरबारको बाहिरी भाग, बगैंचा, हावाघर र राजा महेन्द्रले प्रयोग गरेका डुङ्गाहरु मात्र हेर्न पाएको बताउनुभयो । 

राजा वीरेन्द्र र उहाँका परिवारको दरबार हत्याकाण्डमा मृत्यु भएपछि २०६७ मंसिर २० गते यो दरबार नेपाल ट्रष्ट मातहत राखिएको थियो । एक सय ७४ रोपनी चार आना दुई दाममा फैलिएको रत्न मन्दिर परिसरमा तालघर, बाग बगैंचा र अन्य प्रयोजनका साना ठूला गरी १० भवन छन् । 

नेपाल ट्रष्टकी सूचना अधिकारी सरस्वती पौडेल खनालले यस वर्षभित्रमै दरबारको भित्री कक्षसम्म अवलोकनका लागि खोलिने तयारी भएको बताउनुभयो । दरबार खुला भएकै दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चाँडै भित्री भाग पनि सर्वसाधारणका लागि खुला गरिने बताउनुभएको थियो । 

ट्रष्टकी सूचना अधिकारी खनालका अनुसार हामी निकट भविष्यमै खोल्छौं । त्यसका लागि बजेट व्यवस्थापन भइसकेको छ । दरबार हरेक सोमबार बन्द हुन्छ । आइतबार ३ बजेसम्म मात्र खुला हुन्छ । रत्न मन्दिर कार्यालयका प्रमुख गीता मिजारले दरबारमा अहिले आन्तरिक पर्यटकको आकर्षण बढिरहेको बताउनुभयो । 

दरबार खुला भएको डेढ महिनामा साढे ७ लाख राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।  असार मसान्तसम्म आठ हजार एक सय ६४ जनाले दरबारको अवलोकन गरेको कार्यालयको भनाइ छ । तीमध्ये ६१ जना विदेशी पर्यटक छन् । शुक्रबार र शनिबार धेरै पर्यटक आउने गरेका मिजारले बताउनुभयो । 

नेपाली नागरिकले दरबार प्रवेश गर्दा १ सय रुपियाँ र विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले ५० रुपियाँ शुल्क तोकिएको छ । जेठसम्म सबै विदेशीले दरबार प्रवेशका लागि १ हजार तिर्नुपर्ने प्रावधान थियो । 

संशोधित कार्यविधिमा भारत र चीनका नागरिकले २ सय, सार्क राष्ट्रका पर्यटकले तीन सय र अरु देशका नागरिकले पाँच सय तिनुपर्ने उल्लेख छ । त्यस्तै, व्यापारिक भिडियो वा चलचित्र छायाङ्कनका लागि पाँच हजार शुल्क तोकिएको छ । यसअघि भिडियो छायाङ्कनका लागि १० हजार शुल्क तोकिएको थियो ।