• ७ मंसिर २०८१, शुक्रबार

बसाइँसराइ रोक्न स्वास्थ्य, शिक्षा र रोजगारीमा सुधार

blog

भागेश्वर गाउँपालिका तत्कालीन तीन वटा गाउँ विकास समिति भागेश्वर, रूपाल र बगरकोटलाई मिलाएर बनाइएको हो। २३३.३८ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो गाउँपालिकामा जम्मा पाँच वटा वडा छन्। यहाँको जनसङ्ख्या १३ हजार १३२ रहेको छ। २०७९ सालमा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसका हेमराज चटौत अध्यक्षमा निर्वाचित हुनुभएको हो। पालिका अध्यक्ष चटौतले २०५४ सालमा तत्कालीन बगरकोट गाविसको उपाध्यक्षसमेत भएर जनसेवाको अनुभव बटुलीसक्नुभएको छ । प्रस्तुत छ, भागेश्वर गाउँपालिका अध्यक्ष ५२ वर्षीय चटौतसँग गोरखापत्रकर्मी पुष्कर भण्डारीले पालिकाको आर्थिक तथा सामाजिक विकास निर्माण र जनसेवाका विषयमा गरेको कुराकानी :


तपाईं अध्यक्ष निर्वाचित भइसकेपछि भएका मुख्य मुख्य काम के के हुन् ?

भागेश्वर गाउँपालिका एकदम दुर्गम क्षेत्रमा छ। यो नेपाल–भारतको सीमा नदी महकालीसँग जोडिएको छ। वडा नम्बर १, ४ र ५ को केही क्षेत्र अहिले पनि सडक सञ्जालमा नजोडिएको अवस्था छ। ती क्षेत्रमा सडक पुगाउने हाम्रो पहिलो प्राथमिकता हो। केही गाउँ सडकसँग जोड्न सक्यौँ। अझै धेरै ठुलो क्षेत्र सडक सञ्जालबाट विमुख अवस्थामा छन्। भागेश्वर गाउँपालिकाको अर्काे ठुलो समस्या कृषि उत्पादन हो। हिजोका दिनमा निकै उब्जाउ हुने  कृषियोग्य भूमि अहिले बाँझो छन्। विभिन्न समस्यासँगै एकातिर बसाइँसराइ तीव्र रूपमा बढेको छ भने अर्कातिर जङ्गली जनावरको पीडा त्यस्तै छ। सिँचाइको सुविधा पुग्न सकेको छैन। युवा जनशक्ति गाउँ छाडेर बिदेसिने क्रम जारी छ। कृषिको माध्यमबाट केही रोजगारीका सिर्जना हुन सक्छ कि भनेर कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेतीको प्रयास थालेका छौँ। खेतीपातीतर्फ नगदे बालीमा गोलाई, ऐडुङ्रा, लाकम, बगरकोटसम्मको एरिया र केही भागेश्वर एरिया अहिले तरकारी खेतीतर्फ आकर्षित भएको अवस्था छ। त्योबाहेक वडा नम्बर ५ र ४ को केही भागमा फलफूलखेतीमा आकर्षण बढेको छ। 

गुणस्तरीय शिक्षाको अभावका कारण पनि बसाइँसराइ हुने गरेको हामीले ठान्यौँ। त्यसलाई रोक्न यो वर्षलाई शैक्षिक गुणस्तर सुधार वर्षका रूपमा अगाडि बढाएका छौँ। बाल विकासदेखि नै शिक्षामा सुधार गर्नुपर्छ भनेर बालविकास केन्द्रका शिक्षिकाहरूलाई भेला गराएर पाँच दिने तालिम दिएका छौँ। नमुनाका रूपमा पाँचवटै वडाका एक/एक विद्यालय छनोट गरेर एउटा टेलिभिजन राख्ने गरी पढाइ पनि सँगैसँगै लैजाने भनेर एलइडी उपलब्ध गराएका छौँ। विद्यालयका कर्मचारीहरूलाई समेत तालिम दिएका छौँ। 

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूसँग छलफल गरेका छौँ। प्रत्येक विद्यालयमा शैक्षिक डायरी, होमवर्क डायरी, प्रत्येक शिक्षक, शिक्षिकाले आफ्नो दैनिक कार्ययोजना पेस गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएका छौँ। दिवाखाजाबापतको रकम विद्यार्थीलाई नगदै दिने प्रचलन छ। केही विद्यालयले खाजा पकाएर खुवाउन पनि थालेका छन्। हामीले अब अनिवार्य रूपमा दिवाखाजा पकाएर खुवाउन सबै विद्यालयलाई अनुरोध पनि गरेका छौँ। 

चालु आर्थिक वर्षमा कुन कुन सडक निर्माण भए ?

म यहाँलाई निवेदन गरौँ। सडक धेरै छन्। वडा नम्बर १ मा गाडीमात्र पुगेको छ। बाँकी वडाका गाउँमा पुग्न अहिले पनि सात/आठ दिन लाग्छ। बयलपाट–दुनी सडक सुरुवात गरेका छौँ र पोलेगसम्म जोड्ने काम बाँकी छ। यो वर्ष लगभग २५ किलोमिटर नयाँ सडक निर्माणको सुरुवात गरेका छौँ। सायल–झरना जोड्ने सडक निर्माणको अन्तिम चरणमा पुगेको छ। बोगटादेखि सतीगाउँ जोड्ने सडक, तालगडा–आर्कुडा–मेल्टा हुँदै भागेश्वर जोड्ने सडक, कुर्ङालीदेखि चौड जोड्ने सडक, चुल्ल सडकलगायतका धेरै सडक छन्। यस वर्ष पनि प्रत्येक गाउँमा सडक सञ्जालसँग जोडिनु पर्छ भनी योजना तथा कार्यक्रम अगाडि बढाएका छौँ तर बजेट न्यून छ। सबभन्दा ठुलो कुरो समानीकरण अनुदान अन्तर्गत चालु आर्थिक वर्ष २०७९/८० को अन्तिम किस्ताको ५० प्रतिशत रकम सङ्घीय सरकारले काटेर पठाएको छ। यस वर्षको समानीकरण र राजस्व बाँडफाँटमा ठुलो मात्रामा बजेट कटौती भएको छ। यस कारण हामीले चाहे जसरी रकम विनियोजन गर्न सक्ने अवस्था छैन। आन्तरिक स्रोत छैन। 

भागेश्वर गाउँपालिका पहिलेदेखि नै तरकारी र फलफूल निर्यात गर्ने क्षेत्र हो। यसको उत्पादन बढाउन ठोस काम के गर्नुभएको छ ?

मैले सुरुमै निवेदन गरेँ, गोलाई, ऐडुङ्रा, लाकम, कोर्ङाली, बगरकोटलगायका क्षेत्रमा अहिले व्यावसायिक रूपमा कृषक दाजुभाइहरू अगाडि बढी सकेको अवस्था छ। त्योभन्दाबाहेकको क्षेत्रमा पनि त्यसै हिसाबले कार्यक्रमहरू अगाडि बढ्न सके आत्मनिर्भर हुने अवस्था सिर्जना हुन सक्थ्यो तर त्यो अवस्था अझै सिर्जना हुन सकेको छैन। अहिले वडा नम्बर ३ को खाल र रूपाली गाड अन्तर्गत स्मार्ट एग्रो कार्यक्रम अगाडि बढाएका छौँ। त्यसले पनि किसानलाई सजिलो भएको छ। त्यस क्षेत्रका कृषकहरू आत्मनिर्भर हुने बाटोमा अग्रसर भएको देखिन्छ। यो गर्नलाई पनि सर्वप्रथम सडकको पहुँच हुन जरुरी छ। उत्पादन भएका वस्तुहरू बजारमा पुगाउन नै गाह्रो हुन्छ। पानी परिरहेको छ। बाटो बन्द हुने छ। यी यावत् समस्याका बिचमा सडकलाई पहिलो प्राथमिकताका रूपमा राखेर काम अघि बढाइरहेका छौँ । 

चालु आर्थिक वर्षमा स्वास्थ्य र सिँचाइतर्फ कुन कुन योजना पूरा गर्नुभयो ?

पहिले तीन वटा स्वास्थ्य चौकी रहेको भागेश्वरमा हाल दुई वटा थप भई प्रत्येक वडामा एक एक वटा स्वास्थ्य चौकी स्थापना भएका छन्। पहिले बगरकोट, बोगटा र रूपालमा मात्रै स्वास्थ्य चौकी थिए। सबै स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन गरिएका छन्। कोभिड–१९ को सङ्क्रमणका बेला एमबिबिएस डाक्टर र नर्ससहित सञ्चालनमा आएको कोभिड अस्पताल भने अहिले सञ्चालन गर्न सकिरहेका छैनौँ। एमबिबिएस डाक्टरको सेवासुविधा सङ्घीय सरकारले नै बेहोरेको थियो। अहिले सङ्घीय सरकारले अनुदानबापतको सेवासुविधा कटौती गरेपछि हामीले त्यो सुविधा दिन सकेका छैनौँ। सिँचाइका योजनाहरू पनि निर्माण भएका छन्। 

पहिले नै एउटा उज्यालो भागेश्वर भन्ने अभियान थालिएको थियो। अहिले त्यो अभियान कहाँ पुग्यो ?

पक्कै पनि राम्रोका लागि गरिएको अभियान हो उज्यालो भागेश्वर। दुर्गम बस्तीमा बिजुली पुगाउन विद्युत् प्राधिकरणको मात्रै पहलले ढिला हुन्छ भन्ने हिसाबले भागेश्वर गाउँपालिकाले पवित्र उद्देश्यका साथ उज्यालो भागेश्वर कार्यक्रम अगाडि बढाएको थियो तर जसरी काम हुनु पर्दथ्यो त्यसरी काम भएन। अझै पनि धेरै ठुला बस्ती विद्युत् सेवाबाट टाढा रहेको अवस्था छ। ठेकेदारहरूले पूर्ण रूपमा काम गरिदिएनन्। तत्कालै यसपाली विद्युत् प्राधिकरणले पूरै भागेश्वरभर विद्युत् सेवा विस्तार गर्न टेन्डर आह्वान गरेको छ। डडेलधुरा जिल्लाभरमा विद्युत् सेवा विस्तारका लागि करिब ४५ करोड रुपियाँ बराबरको ठेन्डर आह्वान भएको छ। यस अन्तर्गत भागेश्वरको काम पनि अघि बढ्छ। 

भागेश्वर मुकाम बगरकोट भएर अगाडि बढ्ने सडक कालोपत्रे ठेक्काको सम्झौता मिति समाप्त भइसकेको छ तर सडक ग्राभेलसमेत हुन सकेको छैन। यसमा के पहल हुँदै छ ?

त्यो पूर्वाधार विकास कार्यालयले लगाएको ठेक्का हो। पूर्वाधार विकास कार्यालयलाई हामीले बारम्बार पत्राचार गरेका छौँ। निर्माण व्यवसायीलाई बोलाएर कुरा गरेका छौँ। उहाँ भन्नुहुन्छ, “हामीले भुक्तानी पाएका छैनौँ। कसरी काम गर्ने। ताकेता धेरै ग¥यौँ। ठेकेदारले काम गर्न चासो देखाएको छैन। 

भागेश्वरमा भूगोलसँगै आर्थिक चुनौती पनि छ। यसका अलावा अन्य के कस्ता चुनौती छन् ?

यहाँ चुनौतीका चाङ नै छन्। हरेक क्षेत्रमा चुनौती छ। कृषि, शिक्षा, स्वास्थ्य सबैतिर चुनौती छन्। यहाँ खेतीयोग्य ठुला ठुला फाँटहरू छन्। सिँचाइको सुविधा छैन। सानो बजेटले हुन सक्ने अवस्था छैन। विद्युत्को कुरा अघि नै गरेका छौँ । केही बस्ती दुर्गममा छन्। त्यहाँ खानेपानीको समस्या छ। बेरोजगारी त्यस्तै छ। यो समस्यालाई केही हद कम गर्न सकिन्छ कि भनेर हामीले प्रत्येक वडाबाट दुई दुई जना युवाका हिसाबले ड्राइभिङ तालिम दिएका छन्। १२ कक्षा पास भएका एक वडाबाट चार जनाका दरले एक महिने लोक सेवा कक्षा सञ्चालन गरेका छौँ। यसै गरी युवालक्षित कार्यक्रम अन्तर्गत सिपमूलक तालिम पनि दियौँ। सबै क्षेत्रमा चुनौती नै छ।