• ९ मंसिर २०८१, आइतबार

घोडाघोडी मन्दिरको होमकुण्ड जीर्ण

blog

घोडाघोडी मन्दिर परिसरमा २०५१ सालमा निर्माण भएको जिर्ण अवस्थामा रहेको होमकुण्ड ।

चाँदनी आचार्य

घोडाघोडी(कैलाली), साउन १ गते । जैविक विविधताले महत्त्वपूर्ण विश्व सिमसार क्षेत्र घोडाघोडी तालको महत्वसँगै जोडिएको घोडाघोडी मन्दिरको पनि धार्मिक पर्यटनका हिसाबले छुट्टै महत्त्व छ। ताल क्षेत्रमा सरकारले विभिन्न भौतिक पूर्वाधार निर्माण गर्दैगर्दा मन्दिर दर्शनका लागि आउने धार्मिक पर्यटकका लागि भने न्यूनतम पूर्वाधार निर्माणमा चासो नदिएको गुनासो मन्दिर व्यवस्थापन समितिले गरेको छ ।

विभिन्न चाडपर्व तिथिमा विशेष भिडभाड हुने र दैनिक धार्मिक पर्यटक घोडाघोडी मन्दिरमा पूजा पाठ, विवाह, व्रतबन्ध लगायतका कार्य हुने भएकाले व्यवस्थापनमा समस्या आएको पुजारी शङ्कर संज्यालले बताउनुभयो ।

पूजापाठ, विवाह, व्रतबन्ध लगायत कर्मकाण्डको आम्दानीले नै मन्दिरमा २६ जना बटुकको निःशुल्क शिक्षा आवास गरिँदै आएको बताउने गुरुकुलका प्राचार्य समेत रहेका पुजारी संज्यालले मन्दिरमा होमकुन्डको छानोहाल्न नसक्दा वर्षा र गर्मीमा धार्मिक कार्य गराउन समस्या भएको उल्लेख गर्नुभयो ।

घोडाघोडीमा २०५१ सालमा राष्ट्र गुरु योगी नरहरीनाथले एक महिनासम्म कोटीहोम लगाउनुका साथै गौशाला निर्माण गर्नुभएको थियो । सोही होमकुण्डा अहिले पनि सुरक्षित राखिएको छ । तर तत्कालीन अवस्थामा होमकुण्ड सुरक्षितका लागि काठबाट बनाइएको होमकुण्डको संरचना जीर्ण भएको अवस्थामा छ । 

“स्थानीय, प्रदेश सरकारलाई पटक-पटक समस्या दर्साउँदा समेत सुनुवाइ भएन, यहाँ नेताको घर बनाउन बजेट छुट्याईन्छ सार्वजनिक महत्वको विषयमा चासो दिइँदैन” पुजारी संज्यालले गुनासो गर्नुभयो । 

विराट सनातन धर्म संस्कृति संरक्षण संवर्द्धन प्रतिष्ठान नामक संस्था २०५७ सालमा दर्ता गरी सोही संस्थामार्फत अहिले घोडाघोडीमा विभिन्न संस्थागत कार्यक्रम हुने गरेका छन्। सोही संस्थाले २०६० सालदेखि वेदविद्या आश्रम समेत सञ्चालनमा ल्याएको संज्यालले बताउनुभयो । अहिले आश्रममा कक्षा १२ सम्म संस्कृत तथा वेदको पढाइ हुने गर्दछ ।

दुई महिना अगाडी प्रतिष्ठानको साधारण सभामा सुदूरपश्चिम प्रदेश सरकार आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी समस्या दर्साएपनि सुनुवाइ नभएपछि निराशा छाएको छ । प्रतिष्ठानका अध्यक्ष गोविन्दराज जोशीले कोटीहोमको छानो निर्माण र मन्दिरमा आउने दर्शनार्थीहरुका लागि ओत लाग्ने विश्राम स्थल अति नै आवश्यक भएको बताउनुभयो ।