पुष्कर भण्डारी
डडेल्धुरा, मङ्सिर ८ गते । जेसिज भलिबल कपको उपाधि जिएसएम विल्डर्सले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा नेपाली सेनाको अर्जुनबाण गणलाई हराउँदै जिएसएम विल्डर्सले उपाधि जितेको हो । उपाधिसँगै जिएसएम विल्डर्सले ५५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पायो ।
डडेलधुरा जेसिज वर्ष २०२४ ले खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । डडेलधुरा बहुमुखी क्याम्पसको मैदानमा भएको प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाएका थिए । वेष्टअफ फाइभमा खेलाइएको अन्तिम प्रतियोगिताको पाँचौँ सेटमा जिएसएम विल्डर्सले १५–११ अङ्कले अर्जुनबाण गणलाई पछि पार्दै उपाधि उचालेको हो ।
उपविजेता अर्जुनबाण गणले २५ हजार पाँच सय ५५ रुपियाँ पुरस्कार पायो । मिसन निशान्त कालिज फर्म तेस्रो भयो । उसले १५ हजार पाँच सय ५५ रुपियाँ पायो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी जिएसएम विल्डर्सका बलदेव धामी बन्नुभयो । उहाँले पाँच हजार रुपियाँ पाउनुभयो । उत्कृष्ट स्पाईकर आशिक सुनार र उत्कृष्ट डिफेन्सर सुदिप छन्त्याल बन्नुभयो । उहाँहरू अर्जुन बाणका खेलाडी हुनुहुन्छ । उत्कृष्ट सेटर शागर जैरु र उत्कृष्ट ब्लकर भरत बिक हुनुभयो ।
डडेलधुरा जेसिजले जेसिज सप्ताह कार्यक्रम अन्तरगत खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको हो ।