• २८ वैशाख २०८२, आइतबार

बिरुवा उत्पादन गर्न सेमी–हाइटेक नर्सरी

blog

कपिलवस्तु नगरपालिका –६ तिलौराका कृषकले बेमौसमी तरकारी तथा बेर्ना उत्पादन गर्न स्थापना गरिएको सेमी हाइटेक नर्सरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, साउन १ गते । तीन दशकदेखि परम्परागत रूपमा खेती गर्दैआएका कपिलवस्तु नगरपालिका –६ तिलौराका दरसराम कोँहार यस वर्षदेखि आधुनिक खेती गर्न सुरु गर्नुभएको छ । 

अघिल्लो वर्षसम्म खुला आकाश र मौसमी खेती गर्दै आउनुभएका उहाँले यस वर्षदेखि बेमौसमी तरकारी उत्पादन गर्ने उद्देश्यले खेती सुरु गर्नुभएको हो । लुम्बिनी प्रदेश सरकारको कृषि ज्ञान केन्द्र कपिलवस्तुमार्फत कोहारले सेमी हाइटेक नर्सरी स्थापना गरेपछि उहाँको कृषि गर्ने शैलीमा परिवर्तन देखा परेको छ ।

सेमी हाइटेक नर्सरीमा तापमान नियन्त्रण गर्न सकिने भएको हुँदा बेमौसमी खेती गर्न सकिने कोहारले बताउनुभयो । नर्सरीमा चारैतिरबाट आवश्यक पर्दा खोल्न र बन्द गर्न मिल्नेगरी फलामको पाइपमा प्लास्टिकको प्रयोग गरी टनेल निर्माण गरिएको छ । चिस्यान कायम गर्न हावा चिसो गराउने (कुलिङ्ग सिस्टम) पङ्खा समेत रहेका छन् । सिँचाइ, आद्रताका लागि फोगर समेत जडान गरिएको छ ।

सेमी हाइटेक नर्सरीको मुख्य उद्देश्य बेर्ना तयार गर्ने रहेको कृषि ज्ञान केन्द्रका प्रमुख डा. रविन्द्रप्रसाद चौबेले बताउनुभयो । यसको प्रयोगले तरकारी, फलफूल, फूलका गुणस्तरीय बेर्ना तयार गर्न सकिन्छ । सेमी हाइटेक नर्सरीका लागि १८ लाख ५१ हजार ३२० रुपियाँ लगानी भएको बताइएको छ । 

कार्यालयको तर्फबाट १३ लाख ८८ हजार ४ सय रुपियाँ नर्सरी निर्माणका लागि अनुदान दिइएको छ । करिब १ कठ्ठा क्षेत्रफलमा नर्सरी निर्माण गरिएको छ । हाइटेक नर्सरीमा बिरुवा उत्पादनका अलावा बेमौसमी तरकारी खेती समेत गर्न सकिनेछ ।

“पहिला यो विषयमा केही थाहा थिएन । यो वर्ष मैले परीक्षणको रूपमा केही बिरुवा लगाएको छु । मैले बेर्ना उत्पादन सँगसँगै बेमौसमी तरकारी खेती गर्ने तयारी गरेको छु । जे राम्रो उत्पादन हुन्छ, त्यसैको खेती गर्ने सोचमा पुगेको छु” कोहारले भन्नुभयो । उहाँले १० कठ्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएको छ ।