ललिता साह
वोदेवर्साइन (सप्तरी), असार ३० गते । सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नो सात कोठे प्रशासनिक भवनको शुक्रबार उदघाटन गरेको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड रुपियाँको बजेट पनि ल्याएको छ ।
दुई करोड ३८ लाख ५९ हजार भ्याटसहितको लागतमा अन्सुम नायरा जेभी काठमाडौंले निर्माण गरेको सात कोठे एक तल्ले प्रशासनिक भवनको एउटा व्लक सम्पन्न गरेको छ । सो ठेक्काको ६० प्रतिशत काम भइसकेको र हालसम्म एक करोड २० लाख भुक्तानी भएको गाउँपालिकाले जनाएको छ । आगामी तीन वर्षमा थप सात कोठे अर्को एक तल्ले भवन पनि तयार गरेर हस्तान्तरणका लागि काम सुरु गरेको गाउँपालिकाका इन्जिनियर अवधेश यादवले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले आफ्नो सुविधा सम्पन्न भवन भएपछि गाउँपालिकाले नागरिकलाई विगतभन्दा सहज र गुणस्तरीय सेवा प्रदान गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच गाउँपालिकाले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी ४३ करोड बजेटसहित सम्भावित नीति कार्यक्रम प्रस्तुत गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियतले जानकारी दिनुभयो ।