• १३ साउन २०८१, आइतबार

धान रोपाइँ कम हुनुमा लम्पीस्किनको समेत प्रभाव

blog

काठमाडौँ, असार ३० गते । मुलुकभर अहिलेसम्म ५३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । मौसमका हिसाबले नेपालमा धान रोपाइँका लागि उपयुक्त असार महिना सकिन लाग्दासमेत यस वर्ष ५३ प्रतिशत मात्र रोपाइँ भएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

प्रदेशसँगको समन्वयमा कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष असार २९ गतेसम्म ६५ प्रतिशत रोपाइँ सम्पन्न भएको  थियो । गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको मन्त्रालयका सहसचिव एव प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिनुभयो ।

मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने गोरुमा लम्पी स्किन रोगका कारण रोपाइँ थोरै प्रभावित भएको मन्त्रालयले जनाएको छ ।

बिस्तारै मनसुन सक्रिय, रासायनिक मलको उपलब्धता सुनिश्चित र लम्पी स्किन रोगको प्रभाव कम हुँदै गएको खण्डमा रोपाइँको प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ । रासस