• १३ साउन २०८१, आइतबार

बोटमै पहेँलिएका जौँ र गहुँ टिप्दै हुम्लाका किसान

blog

बोटमै पहेँलिएको जेठासी बाली जौ टिप्दै किसान । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला, असार ३० गते   । हुम्लाका किसानहरू जौ र गहुँ उत्पादन भएको जग्गामै पहेँलिएको अवस्थामा टिप्न बाध्य छन् । लगातार वर्षा भएको कारण जग्गामै पहेँलिएको जौ र गहुँ किसानले टिप्नु परि रहेको हो । 

सिमकोट गाउँपालिका –३ कि किसान जाङ्मु लामाले बोटमै पहेँलिएका जौ र गहुँ टिप्नु परि रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले राम्रोसँग फलेको जेठासी  ( जौ र गहुँ ) बाली बोटमै पहेँलिएको कारण फल कस्तो हुन्छ भन्ने कुरा अहिले नै भन्न नसकिने बताउनुभयो । पाकेर तयार भएको जेठासी बाली  लगातार वर्षा भएको कारण समयमै टिप्न नपाएको कारण पानीमा भिज्दा बोटमै पहेँलिएका हुन । लामाको चार हल जेठासी बाली यसरी वर्षाको कारण पहेँलिएको छ । यो वर्ष खाद्यान्न अभाव हुनसक्ने र भोकमरीको सामना गर्नु पर्ने भन्दै हुम्लावासी चिन्तित छन् ।

त्यसैसरि सिमकोट गाउँपालिका– ६ कि किसान शोभा रोकायाले बोटमै पहेँलिएको जेठासी बाली पानी नपरेको समयमा टिप्ने गरेको र केही त पानी पर्दै गरेको बेला भिजेको अवस्थामा समेत टिप्न र घरमा ल्याएर थन्काउने गरिएको बताउनुभयो । उहाँले एकातिर जग्गामा उत्पादन भएको बोटमै जौ र गहुँ पहेँलिएका छन् भने अर्कोतर्फ घाम नलागेको कारण घरमा राखिएको स्थानमा समेत पहेँलिएको बताउनुभयो । केही टिपेका जौ र गहुँ खेर जाने अवस्थामा रहेका छन् । उहाँले तीन हल जेठासी बाली लगाउनु भएको छ । अझै एक हल जग्गामा लगाएको जौ टिप्न नपाएको बताउँदै उहाँले उत्पादन राम्रो भए पनि वर्षाको कारण क्षति पुगेको बताउनुभयो । 

सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीले किसानको उत्पादन राम्रो भएको जेठासी बाली वर्षाको कारण घाम नलाग्दा पहेँलिएको बताउनुभयो । उहाँले सिमकोट गाउँपालिकामा सात सय भन्दा बढी हेक्टर जग्गामा जेठारी बाली लगाएको र अधिकांश बाली पहेँलिएको अवस्थामा किसानले थन्क्याएर राखेको बताउनुभयो । यो समस्या सिमकोट गाउँपालिकाको मात्र नभएर नाम्खा र खार्पुनाथ गाउँपालिकाका किसानहरूको पनि उस्तै रहेको छ । यसरी पहेँलिएको बालीबाट पिठो समेत कम आउने कृषि प्राविधिकहरूले बताउँछन् ।