सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको क्षेत्रफल २८०.२६ वर्ग किलोमिटर र जनसङ्ख्या ३६ हजार ६२ रहेको छ। यसमा ११ वटा वडा छन्। महाभारत पहाडका अग्ला डाँडा र भिरालो भूबनोटका कारण विकासमा समस्या छन्। यो गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर थापामगर निर्वाचित हुनुभएको छ। यो उहाँको दोस्रो कार्यकाल हो। उहाँसँग गोरखापत्रका बाबुराम देवकोटाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
दोस्रो कार्यकालको पनि पहिलो वर्षभन्दा बढी समय बितिसकेको छ। गाउँपालिकाको विकासमा यो अवधिमा के कस्ता काम भए ?
मेरासामु पहिलो कार्यकालमा सुरु गरेका कामलाई पूरा गर्नुपर्ने दायित्व थियो। पहिलो कार्यकालमै वडा र गाउँपालिकाको कार्यालय भवन निर्माण सुरु भए तर सम्पन्न हुन सकेनन्। अहिले केही वडा कार्यालय भवन र गाउँपालिकाको कार्यालय भवन सम्पन्न भइसकेका छन्। हामीले वडाको केन्द्रसम्म जाने सडकलाई ग्राभेल, सोलिङ गर्नेलगायतका कामलाई निरन्तरता दिएका छौँ। कृषि र पशुपालन क्षेत्रलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यताले अहिले किसानमुखी कार्यक्रम अगाडि बढाएका छौँ। कृषि तथा पशुपालनमा अनुदान दिने, लागत सहभागितामा किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढेका छन्। यो कार्यक्रम एक वर्ष चल्यो । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यव्रmममा हामीले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकता दिएका छौँ।
निर्वाचनको बेला गरेको प्रतिबद्धता कति पूरा भए ?
मैले पहिलो निर्वाचनमा गरेको प्रतिबद्धता धेरै पूरा गरेँ। यो पटकको निर्वाचनमा मैले धेरै प्रतिबद्धता गरिनँ। हाम्रो गाउँपालिका भौतिक पूर्वाधारमा पछाडि छ। सिन्धुली सदरमुकामदेखि गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडक, मदन भण्डारी राजमार्गको डकाहादेखि चकमके जोड्ने सडकलाई बढी प्राथमिकता दिनु पर्छ भन्ने हिसाबले हामीले सङ्घ र प्रदेश सरकारसँग त्यही कुरालाई माग ग¥यौँ। हामी ससाना १० लाख, २० लाख, ५० लाख रुपियाँका योजनाभन्दा पनि ठुला योजनालाई बजेट चाहियो भनेर लाग्यौँ।
गाउँपालिकाको आवश्यकता र जनताको अपेक्षा पूरा गर्न स्रोतसाधनको कमी हुन्छ होला। काम कसरी अगाडि बढाउनुभएको छ ?
हामीसँग ठुलो स्रोत पनि छैन। आन्तरिक आय कम छ। जति आफूसँग छ, त्यसलाई सही तरिकाले परिचालन गर्नेतिर हामी लागेका छौँ। हामीसँग भएको स्रोतलाई न्यायोचित वितरण गर्ने, त्यसको कार्यान्वयन पक्षलाई अलि बढी चासो दिने हो। लगानीको सदुपयोग र प्रभावकारिता भयो कि भएन, कार्यान्वयन सही ढङ्गले भयो कि भएन भनेर हेर्ने प्रणाली बलियो बनाएर लैजाने योजना बनाएका छौँ। स्रोत परिचालनमा पारदर्शिता, जनसहभागिता र जनचासोलाई उच्च प्राथमिकता दिएर अगाडि बढेका छौँ।
यो गाउँपालिकामा पर्यटन विकासको पनि राम्रो सम्भावना छ। त्यसका लागि के कस्ता काम सुरु गर्नुभएको छ ?
पर्यटन विकासका लागि योजना बनाउँदै छौँ। पर्यटक आउने माध्यम भनेको एउटा सडक विस्तार पनि हो; जुन हामीकहाँ कम छ। भौगोलिक रूपमा पनि अलिक विकट छ तर पर्यटनको राम्रो सम्भावना छ। धापचौकीदेखि फिक्कलको महादेवडाँडासम्म पर्यटनको राम्रो सम्भावना छ। विभिन्न मठमन्दिर, गुम्बा, महादेवस्थान र गुफा हामीसँग छन्। ती स्थानलाई सडकले जोड्न सके मात्रै पर्यटक भित्र्याउन सक्छौँ भन्ने हिसाबले सडकलाई प्राथमिकता दिएर निर्माण तथा मर्मतमा लागेका छौँ।
गाउँपालिकाको विकासमा तपाईंको दृष्टिकोण र लक्ष्य के हो ?
गाउँपालिकाको विकास र समृद्धि हाम्रो नारा हो। समृद्धि प्राप्ति कसरी हुन्छ भन्ने कुराको योजना नबनाई हुँदैन। यसका लागि कृषि र पशुपालन क्षेत्रमा लगानी गर्ने, कृषि र पशुपालनमै युवालाई स्वरोजगार बनाउने, परम्परागत खेती र पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नु पर्छ। यहाँ उत्पादन भएका वस्तुलाई बजारसम्म पु¥याउन गाउँपालिकाले योजना बनाउने छ। यसले गर्दा आयआर्जन र रोजगारी सिर्जना पशुपालन र कृषि क्षेत्रबाटै हुन्छ। त्यसलाई सहजीकरण गाउँपालिकाले गर्ने गरी कृषि र पशुपालनलाई प्राथमिकता दिएर योजना बनाएका छौँ। यो गाउँपालिकाका दुई हजारभन्दा धेरै युवा रोजगारीका लागि विदेश गएका छन् । यहाँ भएका युवा पनि काम नपाएर चोक चोकमा भौँतारिएका छन्। कृषि र पशुपालनको क्षेत्रलाई प्राथमिकता दिनुको कारण पनि उनीहरूलाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्नु हो । हाम्रो गाउँपालिका पानी, जङ्गल, जडीबुटी, जमिनमा अब्बल छ। यसको सदुपयोगका लागि गुरुयोजना बनाई अगाडि बढाएका छौँ।
सङ्घीय र प्रदेश सरकारसँग समन्वय र सहकार्य कस्तो छ ?
सङ्घीय सरकारसँग नहुने त कुरै भएन। किनकि हामीलाई सबै स्रोत सङ्घीय सरकारबाटै आउँछ। धेरै विषय सङ्घीय सरकारसँग जोडिएर आउँछ। प्रदेश र स्थानीय सरकार नयाँ भएकाले कानुन र कार्यविधिको अभाव थियो। अहिले यो समस्या समाधान भएको छ। अब हिजोभन्दा सम्बन्ध सुधार हुँदै गएको छ।