गोरखापत्र अनलाइन
काठमाडौं, असार २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको उहाँको भनाइ छ । यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित भएको टिप्पणी गर्नुभयो ।
“लोकतन्त्र साइनबोर्डमा होइन, आचरण व्यवहार जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनुपर्छ” उहाँले भन्नुभयो । यसका लागि राज्यका सबै तहका नागरिकहरुले सरकारलाई झक्झक्याउनुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले अहिले पनि गरिबीको रेखामुनी ठूलो संख्यामा नेपाली रहनुपरेको विडम्बनापूर्ण अवस्था रहेको बताउनुभयो । गरिबीको रेखामुनी रहेका नागरिकलाई आधरभूत अधिकार प्रदान गरी आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।