गोरखापत्र अनलाइन
काठमाडौं, असार २९ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज अहिले सामाजिक मूल्यबाट विचलित हुन थालेको बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको उहाँले बताउनुभयो । समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभावी बोल्नेसँग रमाउन थालेको बताउनुभयो । उहाँले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने दाबी गर्नुभयो । समाजमा अहिले भक्तिरस र नैतिकता हराउँदै गएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘एउटा रामायण मात्रको अनुवादले पनि भानुभक्तले नेपाली समाजमा लगाएका गुन अतुलनीय छ । समाजलाई मूल्य, नैतिकतामा बाँध्नका लागि उहाँले यो प्रयास गरेको देखिन्छ ।’ अहिले मान्छे भगवानसँग डराउन छाडे, मान्छेले नैतिकता पनि गुमाउन थालेको उहाँले टिप्पणी गर्नुभयो ।
अहिले नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको उहाँको टिप्पणी छ । अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताउनुभयो ।