लीलाधर वली
घोराही, असार २९ गते । मृतकका आफन्तद्वारा धर्ना दिँदा घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा शुक्रवार ठप्प भएको छ । बिहीबार उपचारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ३ निवासी १० वर्षीय क्राकोस नेपालीको प्रतिष्ठानमा मृत्यु भएको थियो ।
नेपालीको मृत्यु एमआरआई गर्ने क्रममा डाक्टर र स्वास्थ्यकर्मीहरूको लापरबाहीका कारण भएको भन्दै पीडितका आफन्तहरू दोषीलाई कारवाहीसँगै क्षतिपूर्तिको माग गर्दै आन्दोलित भएका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तहरूले प्रतिष्ठानको काउन्टरमा धर्नामा बसेका छन् ।
प्रतिष्ठानको गेटभित्रै काउन्टरमा पीडितहरूले धर्ना दिएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो,‘मृतकका आफन्तहरूले धर्ना दिएपछि अस्पतालमा हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गरेर सुरक्षा व्यवस्था कडा बनाइएको छ ।’ मृतकका आफन्तहरूले धर्ना दिएपछि उपचारका लागि प्रतिष्ठान पुगेका बिरामीहरू समस्यामा परेका छन् ।
बालकको मृत्युको विषयमा छानबिन समिति बनाउनेसँगै बालककी आमालाई रोजगारी र उपचार खर्च बेहोर्न प्रतिष्ठान तयार रहे पनि पीडित पक्षको माग अनुसार रकम दिन नमान्दा सहमति हुन नसकेको पीडित पक्षले जानकारी दिएको छ । तर प्रतिष्ठानले भने पीडित पक्षसँग वार्ता जारी रहे पनि कुनै समय हुन नसकेको बताएको छ । क्षारेरोगको उपचारका लागि प्रतिष्ठानमा आएका नेपालीको एमआरआई गर्ने क्रममा अक्सिजन सिलिन्डरको ग्यास लिक हुँदा बिरामीको मृत्यु भएको थियो ।