• १३ साउन २०८१, आइतबार

सुनखानीमा उत्पादित कफी पुग्यो अन्तर्राष्ट्रिय बजारमा

blog

बाबुराम शर्मा 

दोलखा, असार २९ गते । दोलखाको कालिन्चोक गाउँपालिका–८ सुनखानी स्थितको नीलकमल कृषि सहकारीका सेयर सदस्यहरूबाट उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा पुगेको छ । 

कफी बजार व्यवस्थापनको लागि द फस्को हिमालयन कम्पनी काठमाडाैँसँग व्यापार सम्झौता गरेर सहकारीको नाम र लोगोसहितको कफी इटली र फ्रान्स लगायतका देशमा निर्यात सुरु भएको सहकारीका संस्थापक अध्यक्ष टहल आचार्यले बताउनु भयो ।

उहाँका अनुसार यो सहकारी संस्थाले यो वर्ष मात्र सङ्कलित साढे दुई क्विन्टलबाट एक लाख ४३ हजार रुपियाँको कफी बिक्री गरेको छ । परम्परागत रूपमा कफी खेती गर्दै आएका कृषकबाट सङ्कलन गरेर कफी बिक्री गरिएको हो । दुई चार बोट कफी रोपेका किसानबाट खेर जाँदै गरेको कफीले बजार पाएपछि अहिले व्यावसायिक रूपमा खेती गर्न लागेका छन् । 

कफीको उत्पादन र बजारको सम्भावनालाई अध्ययन गरेर सहकारीको अनुरोधमा  सहकारीलाई पहिलेदेखि नै सहयोग गर्दै आएको द लेप्रोसी मिसन फाउण्ड प्रोजेक्ट र द फ्रेस्को हिमालयन कफी कम्पनी काठमाडौँको आधा आधा सहयोगमा ५१ जना कृषकलाई तालिम प्रदान गरी छ हजार कफीका बिरुवा वितरण गरेको छ । 

प्राप्त कफीका बिरुवा रोप्ने काम पनि सम्पन्न भएको छ । कृषकको मागलाई ध्यानमा राखेर यो वर्षबाट सहकारी आफैँले कफीको नर्सरी स्थापना गर्ने समेत योजना बनाएको संस्थापक अध्यक्ष आचार्यले जानकारी दिनुभयो  ।

अन्न बाली जोगाउनै नसक्ने अवस्थामा कफी बाँदरले पनि बिगार नगर्ने, खेती प्रविधि सहज र बजार व्यवस्थापनकै कारण कृषकहरू अहिले कफी खेतीतर्फ आकर्षित भएका सहकारीका अध्यक्ष कल्पना खरेलले बताउनुभयो ।

विगतका वर्षहरूमा सहकारीले १५ रोपनी क्षेत्रफलमा अदुवा खेती गरेको थियो । अदुवा राम्रो उत्पादन भए पनि बजार व्यवस्थापनको अभावले अदुवा खेती प्रभावकारी नभएपछि पछिल्लो समय विकल्पको रूपमा कफी खेती छनाेट गर्नुपरेको अध्यक्ष खरेलको भनाइ छ ।

गत २०६७ सालमा कुष्ठ प्रभावित र अपाङ्गता भएका व्यक्तिको उत्थानका लागि शृङगेश्वर स्वयम सहायता समूह गठन भएको थियो । लेप्रोसी मिसन नेपालको सहयोगमा गठन भएको यो संस्था २०७० सालमा नीलकमल कृषि सहकारी संस्थाको रूपमा रूपान्तरित भएको हो । यसले कालिन्चोक गाउँपालिका वडा नम्बर ७,८ र ९ कार्यक्षेत्र बनाएर सेवा विस्तार गर्दै आएको छ । सहकारीमा हाल बाल सदस्य हित एक हजार नौ सय सदस्य  छन् ।