• ४ जेठ २०८२, आइतबार

एमाले सचिवालय बैठकमा जिल्लागत रिपोर्टिङ हुने

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २८ गते । नेकपा (एमाले) को सचिवालय बैठक असार ३० गते शनिबार बिहान ११ बजे बस्दैछ । बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको आन्तरिक विषयमा समीक्षा हुने बताइएको छ ।  

एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्मराज अधिकारीले बैठकमा जिल्लाको रिपोर्टिङलगायत पार्टीको नियमित तथा साङ्गठनिक कामका विषयमा छलफल हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “असार ३० गते सचिवालय बैठक बस्दैछ । हाम्रा नियमित धेरै कामहरू छन् । केन्द्रीय सदस्यहरू जिल्ला–जिल्लामा खटिरहनुभएको छ । जिल्लाको रिपोर्टिङ गर्ने, नियमित काम, साङ्गठनिक नियमित काम गर्ने सवाल नै मुख्य हो ।” 

बैठकमा पार्टीको नियमित साङ्गठनिक विषयमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । सचिवालय बैठक सम्बन्धमा थप एजेण्डा तय भइरहेको पनि उहाँको भनाइ छ । “जिल्ला तहमा कार्य सम्पादन कस्तो भइरहेको छ ? त्यस विषयमा समीक्षा हुन्छ” डा. अधिकारीले भन्नुभयो । बैठकको एजेण्डा सूचीकृत गर्नेकाम भइरहेको  उहाँले बताउनुभयो ।