• २८ वैशाख २०८२, आइतबार

पार्टी बनाउन स्वर्गीय दाहालको योगदान स्मरणीय

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्मरणमा आयोजित श्रद्धाञ्जली सभा । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असार २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सल्लाहकार स्व. सीता दाहालको माओवादी आन्दोलनमा महत्त्वपूर्ण योगदान रहेको स्थानीय नेताहरूले चर्चा गर्नुभएको छ । 

माओवादी केन्द्रको जिल्ला समन्वय समिति बाँकेले बिहीबार नेपालगञ्जमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा नेताहरूले सो चर्चा गर्नुभएको हो । जनयुद्धको कठिन घडीमा स्वर्गीय दाहालको सक्रियता स्मरणीय रहेको स्मरण गर्नुभयो । 

माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी र पार्वती पुन, प्रदेश कमिटी सहसचिव अकलबहादुर बमलगायतले स्वर्गीय दाहालले पार्टी जीवनमा ठुलो योगदान दिनुभएको बताउनुभयो ।  

माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले श्रद्धाञ्जली कार्यक्रममा स्वर्गीय दाहालको तस्बिरमा माल्यार्पणसहित उहाँको स्मरण गरिएको बताउनुभयो । दाहालको हिजो बुधबार बिहान उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो ।