• ८ मंसिर २०८१, शनिबार

बौद्धधर्म दर्शनबारे पाकिस्तानमा बृहत् छलफल

blog

काठमाडौं, असार २८ गते । पाकिस्तानमा बौद्धधर्म दर्शनका बारेमा बृहत् छलफल भएको छ । त्यहाँस्थित नेपाली दूतावासको आयोजनामा अन्तरक्रिया एवम् धर्मदेशना कार्यक्रमको आयोजना गरिएको हो ।

अन्तर्राष्ट्रिय गान्धारा सिम्पोजियम नाम दिइएको सो कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्य, नेपाली बौद्ध बिहारका सङ्घनायक भिक्षु कौदन्य र कपन गुम्बाका लामा थिन्ले कुन्चकले विशेष सहभागिता जनाउनुभयो ।

इस्लामाबादमा रहेका नेपाली समुदाय, बौद्ध धर्मदर्शनमा चाख राख्ने पाकिस्तानी र अन्य मुलुकका व्यक्तिहरूको सहभागिता कार्यक्रममा नेपाली राजदूत तापस अधिकारीले बौद्ध दर्शनका अहिंसा, दया, करूणा, समभाव एवम् सम्यक् ध्यान जस्ता शाश्वत मान्यताहरू मानव जीवनाेपयोगी भएकाले बौद्ध धर्मदर्शनको समसामयिकता र सर्वस्वीकार्यता रहेको औँल्याउनुभयो ।

पाकिस्तान सरकारले गान्धारा सभ्यतालाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने नीति लिएको परिप्रेक्षमा गान्धारा सभ्यता र नेपाली संस्कृतिबीच अटुट सम्बन्ध रहेकाले यसले नेपाल–पाकिस्तान सम्बन्धलाई थप प्रगाढ बनाउने उहाँले प्रष्ट्याउनुभयो । भगवान बुद्धको जन्मभूमि लुम्बिनी, नियमित धार्मिक एवम् अध्यात्मिक क्रियाकलाप भइरहेका हजारौं वर्ष पुराना बौद्ध महाविहार, विहार, बहि, चैत्य एवम् गुम्बाहरू आदि भएको कारणले नेपाल बौद्ध धर्मदर्शन, अध्यात्मको केन्द्रका रूपमा रहेको र बौद्ध धर्मावलम्बी एवम् शान्तिमा विश्वास राख्ने अन्य समुदायका लागि पनि प्रमुख तीर्थ एवम् आध्यात्मिक गन्तव्यका रूपमा छ ।

साथै, बौद्ध दर्शनका थेरवादा, महायाना एवम् बज्रयाना गरी तीनै प्रमुख धारको तीर्थस्थल समेत नेपाल रहेको कारण हिमाली दर्शनको अध्येताहरूका लागि पनि नेपाल केन्द्रको रूपमा रहेको बताउनुभयो । यी कारणले गर्दा पाकिस्तान लगायत विश्वभरबाट अध्यामिक साधकहरू नेपाल भ्रमणमा जाने गरेको बताउनुभयो ।

प्राचिन उदियाना एवम् हाल पाकिस्तानको स्वात उपत्यकामा जन्मनुभएका गुरू पद्मसम्भव वा गुरू रिम्पोचेले नेपालका विभिन्न स्थानमा ध्यानतपस्या गरेका स्थानहरू अझै पनि नेपालमा आध्यात्मिक केन्द्रका रूपमा छन् । बौद्ध साहित्यमा तक्षशीला एवम् गान्धाराको ठूलो महत्त्व रहेको हुनाले यसको थप संरक्षण र प्रवर्द्धन भएमा उक्त क्षेत्र नेपाल लगायत अन्य मुलुकका बौद्ध धर्मावलम्बी एवम् यसमा चाख राख्नेहरूका लागि प्रमुख गन्तव्य बन्न सक्ने सम्भावना दर्शाउनुहुँदै नेपाल घुम्न जान प्रेरित गर्नुभयो ।

कार्यक्रममा प्रा. बज्राचार्य, भिक्षु कौदन्य एवम् लामा कुन्चकले बौद्ध धर्म दर्शनका विभिन्न पक्षहरूमा प्रकाश पार्नुका साथै सहभागीहरूबाट सोधिएका जिज्ञासाहरूको उत्तर दिनुभएको थियो ।