जेनेभा, (स्विट्जरल्याण्ड), असार २७ गते । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ र सिङ्गापुर सरकारका डिजिटल विकास तथा स्वास्थ्य राज्यमन्त्री रहायू महजामबिच द्विपक्षीय भेटवार्ता भएको छ।
मन्त्री गुरुङ स्विट्जरल्याण्डको जेनेभामा आयोजित विश्व सूचना समाज शिखर सम्मेलनको उच्चस्तरीय कार्यक्रममा रहँदा उहाँहरूबिच द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटवार्तामा नेपाल र सिङ्गापुरबीच ई–शासन, साइबर सुरक्षा, डिजिटल नवप्रवर्तन, फिनटेक तथा हरित डिजिटल पूर्वाधारमा सहकार्य गहिराउने विषयमा विशेष छलफल भएको थियो।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहनुभएका मन्त्री गुरुङले हाल डिजिटल नेपाल फ्रेमवर्क र आईटी भिजन २०५० अन्तर्गत नेपालको डिजिटल रूपान्तरण अभियानको नेतृत्व गरिरहनु भएको छ।
उहाँको नेतृत्वमा नेपालले समावेशी डिजिटल सार्वजनिक पूर्वाधार, कृत्रिम बुद्धिमत्ता (एआई) को तयारी, क्लाउड कम्प्युटिङ, बीपीओ प्रवर्द्धन र सुरक्षित पोस्ट–क्वान्टम प्रविधितर्फ उल्लेखनीय प्रगति गरिरहेको छ।
सिङ्गापुरका राज्यमन्त्री रहायू महजामले डिजिटल समावेशिता, अनलाइन सुरक्षा, युवाको सशक्तीकरण र महिला सशक्तीकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएको छ ।
उहाँले नेपालका डिजिटल आकांक्षालाई स्वागत गर्दै सहकार्यका प्रस्तावहरूलाई सकारात्मक रूपमा ग्रहण गर्नुभएको छ। दुवै पक्षबीच स्मार्ट सार्वजनिक सेवा प्रवाह, सीप विकास, फिनटेक नवप्रवर्तन र दिगो क्लाउड पूर्वाधार विकासमा रणनीतिक सहकार्यबारे समेत छलफल भएको छ।
मन्त्री गुरुङले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सिङ्गापुरका प्रधानमन्त्रीलाई नेपालको उच्चस्तरीय भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिनुभएको जानकारी सञ्चार मन्त्रीको सचिवालयले दिएको छ ।
यस भेटवार्ताले नेपाललाई अन्तर्राष्ट्रिय डिजिटल प्रविधि विकासमा अग्रसर मुलुकको रुपमा पुनः स्थापित गर्नुका साथै नेपाल–सिङ्गापुर सम्बन्धलाई समावेशी र दिगो प्रविधिमार्फत सुदृढ बनाउने आधार तय गरेको छ।
कार्यक्रममा डा. शालिग्राम पराजुलीसहित नेपालका सूचना प्रविधिसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरू सहभागी छन् ।