• १३ असोज २०८१, आइतबार

मधेशमा निजामती किताबखाना सञ्चालन आउनु सुखद : प्रमुख मिश्र

blog

मधेश प्रदेशले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा सहभागीहरु । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, असार २८ गते । मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेश प्रदेशमा प्रदेश निजामती किताबखाना सञ्चालनमा आउनु सुखद भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेशले बिहीबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

राष्ट्रिय किताबखाना (निजामती) बाट प्रदेश निजामती किताबखानालाई वैयक्तिक सूचना प्रणालीको युजर आइडी तथा पासवर्ड हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभयो । प्रदेशका निजामती कर्मचारीका लागि प्रदेशमै निजामती किताबखाना सञ्चालन भएपछि कर्मचारीलाई सङ्घीय राजधानी काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त हुने र कर्मचारीको सम्पूर्ण विवरण प्रदेशबाटै उपलब्ध हुने बताउनुभयो । 

मुख्यमन्त्री सरोजकुमार यादवले कर्मचारीको विवरण प्राप्त गर्ने सूचना बैङ्कको रूपमा प्रदेश निजामती किताबखाना सञ्चालनमा आएपछि प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापन गर्नमा मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकारले निजामती कर्मचारी ऐन, प्रहरी ऐन र लोकसेवासम्बन्धी ऐन ल्याउँदा सङ्घमा पराकम्प गएको भन्दै प्रदेश निजामती ऐनको कार्यान्वयन भएमा कर्मचारीको धेरैजसो समस्या समाधान हुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सङ्घीय सरकारले २० वर्षसम्म निजामती कर्मचारी ऐन नल्याए, प्रदेश सरकारले कुरेर बस्दैन । प्रदेश सरकारले संविधानमा उल्लेखित आफ्नो अधिकारको प्रयोग गरेर अघि बढ्को छ । मुख्यमन्त्री यादवले प्रदेश सरकारले संविधानलाई टेकेर आफनो अधिकारका लागि अघि बढेको बताउनुभयो । २०८० वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकबाट साउन महिनादेखि प्रदेश किताबखाना सञ्चालनमा ल्याउने निर्णय गरेको स्मरण गराउनुभयो । 

यो कार्य तोकेको समयभन्दा अगावै भएकोमा कार्यक्रममा सहभागी सबैलाई धन्यवाद समेत दिनुभयो । मधेश प्रदेशमा वैयक्तिक सूचना प्रणाली पोर्टल सञ्चालनमा ल्याउन आज जनकपुरधाममा आयोजित एक समारोहबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय किताबखाना (निजामती) ललितपुरबीच सम्झौता भएको छ । 

राष्ट्रिय किताबखानाले सो अवसरमा प्रदेश निजामती किताबखानालाई वैयक्तिक सूचना प्रणालीको युजर आइडी तथा पासवर्ड हस्तान्तरण गरेको छ । सङ्घ र प्रदेशबीच भएको सम्झौतापत्रमा मधेश प्रदेश सरकारको तर्पmबाट निमित्त प्रमुख सचिव किशोरकुमार चौधरी र सङ्घ सरकारको तर्फबाट राष्ट्रिय किताबखानाका उपमहानिर्देशक सुशीला अर्यालले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा प्रादेशिक लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्र यादव, नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोद यादवलगायतकाले आफ्नो मन्तव्य राख्दै प्रदेश निजामती किताबखान प्रदेशवाटै सञ्चालन हुने भएपछि यहाँका कर्मचारीलाई सहज हुने बताउनुभयो ।