• १२ पुस २०८१, शुक्रबार

थप नौसय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ : मन्त्री बस्नेत

blog

ऊर्जा, जलस्रोत तथा सिंचाइँमन्त्री शक्तिबहादुर बस्नेत । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २८ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा थप ९०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारको रहेको बताउनुभएको छ । 

राष्ट्रिय सभा बैठकमा बिहीबार आफ्नो धारणा राख्नेक्रममा मन्त्री बस्नेतले सो कुरा बताउनुभएको हो । मन्त्री बस्नेतले अगामी आर्थिक वर्ष २०८०–८१ मा थप नौसय विद्युत उत्पादन हुने दाबी गर्नुभयो ।

आगामी १० वर्षभित्रमा २० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको उहाँको भनाइ छ । सोहीअनुरूपको ऊर्जा विकास दशकको मार्गचित्र र कार्य योजनाका साथ मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हाल करिब २७ सय मेगावाट करिब हामीसँग उत्पादनको क्षमता रहेको छ । आगामी वर्ष थप नौसय मेगावाट पुगाउने लक्ष्य छ । त्योअनुसार ऊर्जा विकास दशकको मार्गचित्र र कार्ययोजनाका साथ काम भइरहेको छ ।’ 

मन्त्री बस्नेतले विद्युतको आन्तरिक खपत क्षमता पनि बढाउने काम भइरहेको जानकारी दिनुभयो । नेपाल विद्युतमा पूर्णतः आत्मनिर्भर भइसकेको र आगामी दिनमा उत्पादित विद्युत बेचेर देशले राम्रो आम्दानी गर्ने उहाँले बताउनुभयो ।