• १३ साउन २०८१, आइतबार

सीता दाहालको निधनमा शोक व्यक्त

blog

काठमाडौँ, असार २८ गते । अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको असामयिक निधनप्रति शोक व्यक्त गरेको छ ।

महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले शोक वक्तव्य जारी गर्दै दाहालको असामयिक निधनप्रति पार्टी मर्माहत र स्तब्ध बनाएको बताउनुभएको छ । नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका एक योद्धा गुमाउनुपरेको वक्तव्यमा उल्लेख छ । 

त्यस्तै गरी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का केन्द्रीय महासचिव एवं भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र केन्द्रीय सदस्य गङ्गा दाहालकी माता सीता दाहालको निधनले समग्र क्रान्तिकारी योद्धाहरूले अभिभावक गुमाएको बताउँदै शोक वक्तव्य जारी गरेको छ । सङ्घकी अध्यक्ष अमृता थापाले अभिभावक गुमाएको प्रति दुःखित भएको उल्लेख गर्नुभएको छ । 

“यस दुःखद घडीमा सम्पूर्ण सङ्घ परिवार र उहाँको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौँ”, शोक वक्तव्यमा भनिएको छ ।