• १३ साउन २०८१, आइतबार

सिन्धुलीमा ५७ प्रतिशत रोपाइँ

blog

मरिण गाँउपालिकामा रोपाइँमा रमाउँदै बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठ, संघिय सांसद लेखनाथ दाहाल लगायत स्थानीय किसानहरु । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा 

सिन्धुलीमाढी, असार २७ गते । सिन्धुली जिल्लामा यो वर्ष हालसम्म ५७ प्रतिशत रोपाइँ सकिएको छ । सिन्धुली जिल्लामा यो वर्ष मनसुन ढिलो सुरु भएकाले बुधबारसम्म ५७ प्रतिशत अर्थात् नौ हजार एक सय ८१ हेक्टरमा सम्पन्न भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा कुल खेती योग्य जमिन ६२ हजार ७१३ हेक्टर रहेको छ । त्योमध्ये धान खेती हुने जमिन १६ हजार हेक्टर रहेको छ । 

गत जिल्लामा ९७ प्रतिशत अर्थात् १५ हजार ४२२ हेक्टरमा वर्षे धान खेती भएको र कुल उत्पादन ४२ हजार ९४२ मेट्रिक्टन भएको केन्द्रका प्राविधिक सहायक रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली, कमलाखोच, मरिण क्षेत्र, कमलामाई नगरपालिका, हरिहरपुरगढी लगायत जहाँ सिँचाइको सहज सुविधा छ । ती ठाउँमा धान रोपाई यो वर्ष बढी भएको छ। 

अन्य क्षेत्रमा पनि मनसुनको आगमनसँगै रोपाइँ सुरु भएको र सिन्धुली जिल्लामा साउनको तेस्रो सातासम्म रोपाइँ हुने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा खेती हुने धानका प्रमुख जातहरूमा सावित्री, रामधान, म्वानपुर १, राधा ४, सुख्खा ३, र हाईब्रिड जात अन्तर्गत युएस ३१२, युएस ३०५ आदि रहेका छन् ।”

जिल्लाको महाभारत उत्तरका केही भाग बाहेक धेरै जसो ठाउँमा किसानले रोपाइँ सकेका स्थानीयले जनाएको छ । महाभारत क्षेत्रमा धेरै चिसो हुने र ढिलो रोपाइँ गरेका धान बाला नलाग्ने, थोरै फल्ने लगायतका समस्याले महाभारत क्षेत्रमा खेती हुने पोख्रेली र खुमल ४ लगायतका जातको धानको रोपाइँ असारको दोस्रो सातासम्म सकिने गरेको कमलामाई नगरपालिका–३ का किसान रामेश्वर देवकोटाले जानकारी दिनुभयो ।

दुई वटा नगरपालिका र सात वटा गाउँपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा धान खेतीका लागि कमलाखुजँ, मरिण, र तीनपाटन  क्षेत्र उर्वर क्षेत्र मानिन्छ । धेरै जसो किसानको आम्दानी गर्ने र जीविका चलाउने मुख्य स्रोतका रूपमा बर्खे धानखेती रहेकाले रासायनिक मलको अभावमा पनि धान रोपाइँ गर्न भ्याईनभ्याई भएको स्थानीय किसानको भनाइ छ ।