• ८ कात्तिक २०८१, बिहिबार

बीआरआईका कुनै योजना अघि बढेका छैनन् : परराष्ट्रमन्त्री साउद

blog

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद । फाइल तस्बिर

काठमाडौं, असार २५ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हालसम्म बीआरआई परियोजना अन्तर्गतका कुनै पनि कार्यक्रम नेपालमा सञ्चालन नभएको बताउनु भएको छ । 

सोमबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले चीन सरकारसँग बीआरआईका लागि नेपालले २०१७ मा सम्झौता गरेको थियो तर त्यसपछि बीआरआई अन्तर्गत कुनै पनि योजना नेपालमा अघि नबढेको जानकारी दिनुभयो । 

पछिल्लो समय चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गतको भएको दाबी गर्दै आएपछि नेपालमा बहसको विषय बनेको थियो । समितिको बैठकमा समिति सदस्यहरूले प्रश्न गरेसँगै मन्त्री साउदले बीआरआईअन्तर्गत हालसम्म कुनै योजना नेपालमा सुरु नभएको र कार्यान्वयनको सन्दर्भमा अहिले सरकार छलफलमा रहेको स्पष्ट पार्नुभयो । 

मन्त्री साउदले भन्नुभयो,‘‘एमसिसी परियोजना आगामी अगस्ट महिनादेखि कार्यान्वयनको चरणमा जान्छ । कार्यान्वयनको चरणपछि ५ वर्षमा यो पूरा हुन्छ र एमसिसी एउटा ग्राण्ड भएको हुनाले कार्यान्वयनको चरणमा गइसकेको छ । बीआरआई नेपालमा २०१७ मा नेपालले चीन सरकारसँग एमओयु गरिसकेको छ, यसपछि यसको कार्यान्वयनको सन्दर्भमा हामी थप छलफलको चरणमा छौँ । यो कार्यक्रमअन्तर्गत कुनै पनि योजना नेपालमा सुरु भएको छैन ।’’

मन्त्री साउदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आगामी अगस्ट महिनाबाट कार्यान्वयनको चरणमा जाने बताउनु भयो।