बेइजिङ, असार २५ गते । दक्षिणी चीनको गुआङ्डोङ प्रान्तको एक पूर्वप्राथमिक (किन्डरगार्टेन) विद्यालयमा सोमबार भएको आक्रमणमा परी छ जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको सरकारी प्रवक्ताले बताएका छन् ।
मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी छन् । उहाँले लियानजियाङ सहरमा भएको आक्रमणमा प्रयोग भएका हतियार, पीडितको पहिचान र उमेरबारे विस्तृत जानकारी दिनुभएको छैन ।
“घटनामा संलग्न रहेको आरोपमा शङ्कास्पद एक जनालाई पक्राउ गरिएको छ,” उहाँले भन्नुभयो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
स्थानीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शङ्कास्पद व्यक्ति वु नाम गरेका २५ वर्षीय पुरुष रहेका र उनको घटनासँगको संलग्नताबारे अनुसन्धान भइरहेको छ ।”
चाइना न्यूज नेटवर्कका अनुसार स्थानीय समयअनुसार ७ः४० बजे उक्त घटना भएको हो । अपराधस्थल देखाउने दाबी गर्दै पैदल यात्रीहरूले खिचेको र पोष्ट भएका भिडियोहरू चीनमा प्रसिद्ध सामाजिक सञ्जाल वेइबोबाट हटाइएको छ ।
बन्दुकलाई कडाइका साथ नियन्त्रण गरिए पनि चीनले धारिलो हतियार प्रहार गरी हुने घटनालाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहनुपरेको छ । चीनमा हालैका दशकमा अर्थतन्त्रमा वृद्धि भएको छ र धनी र गरीबबीचको खाडल तीव्र रूपमा फराकिलो भएको छ । रासस/सिन्ह्वा