गोविन्द शर्मा
बाँके, असार २५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरिया र सिमेन्टको सहरलाई हरित सहरको रुपमा अघि बढाउन आवश्यक भएको बताउनुभएको छ। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समिति अन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर–नेपालगञ्ज सडकको साझा चोकदेखि हाइस्कुल चोकसम्म सोमबार आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा मुख्यमन्त्री चौधरीले जनताको चाहना अनुसार वृक्षरोपण गर्न आग्रह गर्नुभएको हो ।
मुख्यमन्त्री चौधरीले भन्नुभयो, “सिमेन्ट र सरियाको सहरले हरियाली उजाडिएको बेलामा हरित सहर बनाउन एकदमै जरुरी छ ।” बोटबिरुवा रोप्नु मात्रै ठूलो कुरा होइन संरक्षण महत्वपूर्ण भएको भन्दै उहाँले संरक्षणका लागि स्थानीयको आवश्यकता र चाहना अनुसार वृक्षरोपण गर्न आग्रह गर्नुभयो । मुख्यमन्त्री चौधरीले घर–घरमा रोप्ने बिरुवा र सडक–सडकमा रोप्ने बिरुवाको पहिचान गरेर मात्र वृक्षरोपण गर्न पनि सुझाव दिनुभयो । चुरे संरक्षणको महत्व रहेको भन्दै उहाँले यो कार्यक्रममा प्रदेश सरकार जोडिन चाहेको बताउनुभयो । उहाँले कोहलपुर सहरलाई प्रदेशकै हरित नमुना सहर बनाउन सकिनेमा समेत जोड दिनुभयो ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागि परेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “विगतका स्थानीय सरकारले पनि नगर क्षेत्रमा बोटबिरुवा रोपेको भए पनि ती बोटबिरुवा हुर्कन नसक्दा अहिले विज्ञहरुको सुझाव र माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको छ ।” बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उहाँले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न नगरवासीलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रदेशसा सदस्य सञ्जुकुमारी थारु, जन्मजय तिमिल्सेना, नगर उपप्रमुख संगीता सुवेदी, राष्ट्रपति चुरे–तराई मधेश संरक्षण समितिका बोर्ड सदस्य भेषराज आचार्य, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन एकाइ कैलालीका प्रमुख हरिवंश आचार्यलगायतले चुरे संरक्षणमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताउनुभयो । उक्त खण्डमा कोनोकार्पस ल्यान्सिफोलियस प्रजातिका तीन सय बिरुवा रोपिएको छ ।