• १३ साउन २०८१, आइतबार

निक आइमोनस्लाई नेपाल भिजनको सम्मान

blog

काठमाडौँ, असार २५ गते । अमेरिकाको न्युयोर्कमा रहेको नेपाल भिजन इनकर्पोरेटेडले निक आइमोनस् फाउन्डेसन र संस्थाको उपसभापति डा. जिम र मारलियन आइमोनस्लाई सम्मान तथा अभिनन्दन गरेको छ । उक्त संस्थाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोगको स्मरण गर्दै नेपाल भिजनले संस्था र त्यसका उपसभापतिलाई सम्मान गरेको जनाएको छ । 

नेपाल भिजनका अनुसार फाउन्डेसनले नेपालको वस्तुस्थितिको अध्ययन गरी नेपालको स्वास्थ्यस्थितिको सुधारका लागि व्यवस्थित तवरबाट सहयोग  गर्दै आएको छ । सन् २०१९ देखि हालसम्म संस्थाले नेपालको सुगम र दुर्गम क्षेत्रको स्वास्थ्यस्थितिलाई सुधार गर्न करिब १८ अर्ब रुपियाँ लगानी गरिसकेको दाबी गरेको छ  ।

सन् २०१५ मा नेपाल र नेपालीको हित गर्ने उद्देश्यले स्थापित भएको फाउन्डेसनका संस्थापक  निक आइमोनस्को समुद्रमा पौडी खेल्ने क्रममा निधन भएपछि उहाँका बुवा डा. जिम र आमा मारलियनले फाउन्डेसनको उद्देश्य अनुसार नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्दै आउनुभएको छ । 

अभिनन्दन समारोहमा नेपाल सरकारको तर्फबाट कन्सुल जनरल विष्णुप्रसाद गौतम र नेपाली कांग्रेसका मुख्य सचिव तथा प्रदेश सांसद कृष्णप्रसाद पौडेल र फाउन्डेसनका नेपालको प्रतिनिधि विद्याधर मल्लिक र अन्य सङ्घ संस्थाका प्रतिनिधिको उपस्तिथि रहेको थियो । त्यस्तै निक आइमोनस् फाउन्डेसन इन्टरनेसनलका आवासीय प्रतिनिधि पाट्रसिया र मिलन श्रेष्ठको पनि उपस्थिति रहेको संस्थाले जनाएको छ ।