• १९ वैशाख २०८१, बुधबार

विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी

blog

मीना कंडेल

कावासोती (नवलपुुर), असार २४ गते । नवलपुरको विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम प्रभावकारी बनेको छ । यो कार्यक्रमले विपन्न बस्तीका एक सय घरधुरी प्रत्यक्षरुपमा लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कले देखाएको हो ।

चालिस लाखको लगानीमा सुरुवात गरिएको यो कार्यक्रमले विशेषगरी ग्रामीण भेगका विपन्न समुदायको जीवनस्तरलाई सुधारोन्मुख गराएको देखिन्छ । कार्यक्रम अन्तर्गत कुखुरा, बङ्गुर, बाख्रा, प्लाष्टिक घर निर्माण, च्याउ घर, बाख्रा पालन सम्बन्धी तालिम, भकारो सुधार, सिँचाइ लगायतका कार्य रहेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपालप्रसाद लामिछानेले बताउनुभयो ।

यस्तै, जिल्लामा ग्रामीण पोषण सुरक्षण कार्यक्रमबाट एक सय ३८, विशेषबाली प्रवर्द्धन कार्यक्रमबाट तीन सय ८७, साना सिँचाई सञ्चालन कार्यक्रमबाट ९ सय ७७, धानबाली प्रवर्द्धन कार्यक्रमबाट तीन सय ५८ र तरकारी क्षेत्रफलका आधारमा प्रोत्साहन कार्यक्रमबाट दुई सय २६ घरधुरी लाभान्वित भएको कृषि ज्ञान केन्द्र नवलपुरका बालीअधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा धानबाली प्रवर्द्धन कार्यक्रम, दलहन बाली प्रवर्द्धन कार्यक्रम र साना व्यवसायी फर्म स्थापना तथा विस्तार कार्यक्रममा प्रगति भएको समेत ज्ञान केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७९-०८० को सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषकहरूले बाली बिमा कार्यक्रमबाट लागत मूल्यको मात्र बिमा हुने र बाली किमा कार्यक्रम झन्झटिलो भएको गुनासो गरेका थिए । आफूले चार बिघा क्षेत्रफलमा कृषि गर्दै आएको भएपनि सहज तरिकाबाट मलविउ नपाउनुको साथै ऋण समेत पाउँन नसकेको कावासोती १३ का शान्ति महतोले बताउनुभयो ।  

परम्परागत शैलीबाट भन्दा आधुनिक प्रविधिलाई अङ्गाल्न सके कृषिमा क्रान्ति आउने भन्दै सवै पक्ष जिम्मेवारी निभाउन लाग्नुपर्ने जिल्ला समन्वय समितिका नवलपुरका प्रमुख बाबुराम विकले बताउनुभयो । राज्यस्तरबाट नै कृषकलाई सहज रूपमा नीति तथा योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । गण्डकी प्रदेशभरिबाट सर्वोत्कृष्ट कृषकका रूपमा देवचुली १७ का गोविन्द बस्याल सहित पाँच जना किसानलाई सम्मान गरिएको थियो ।