• १३ साउन २०८१, आइतबार

कोलीय गणराज्यको दरबार क्षेत्रमा भेटियो प्राचीन इनार

blog

देवदह –९ खयरडाडाँमा गरेको उत्खननमा भेटिएको इनारसहितको संरचना । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, असार २४ गते । गौतमबुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहस्थित प्राचीन दरबार रहेको दाबी गरिएको खयरडाँडामा प्राचीन इनार र मध्यकालीन अवशेष भेटिएको छ । 

लुम्बिनी विकास कोषले देवदह –९ खयरडाँडामा गरेको उत्खननमा प्राचीन इनार र मध्यकालीन भवनको अवशेष भेटिएको हो । गत जेठ १७ गतेदेखि सुरु गरी असार १५ गतेसम्म करिब एक महिनासम्म गरिएको उत्खननबाट प्राचीन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इट्टा, माटोको दियोहरू भेटिएको लुम्बिनी विकास कोषका पुरातत्त्व महाशाखा प्रमुख हिमाल उप्रेतीले बताउनुभयो ।

‘प्राचीन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साइजका इट्टा भेटिएको छ’ पुरातात्वविद् उप्रेतीले भन्नुभयो, ‘मध्यकालीनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ उत्खननमा ठुलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरू प्रशस्त भेटिएको छ । 

पुरातात्वविद् उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यान केन्द्र वा कुनै ठुलो भवन भएको अनुमान गर्न सकिन्छ । स्थानीयहरूले भने देवदह –९ घोडाहास्थित खयरडाँडा क्षेत्र नै गौतमबुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र भएको बताउँदै आएका छन् ।  

उत्खननमा केही प्राचीन इनारसँगै ध्यानकेन्द्रजस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरू भेटिएकाले देवदहको दाबीलाई बल पुगेको छ । तर, प्राचीन कोलीय गणराज्यको राजधानी देवदह क्षेत्रको पुष्टिका लागि भने ठुलो मात्रामा उत्खननको आवश्यकता रहेको विज्ञहरूको भनाइ छ । 

लामो समयपछि कोषको तर्फबाट उत्खनन् सुरुवात भएकाले देवदहको खोजीका लागि ठुलो आकारको उत्खनन् आवश्यक पर्ने पुरातात्वविद् उप्रेतीको भनाइ छ । लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई विशेष महत्त्व दिदैं वर्षौँपछि उत्खनन् थालिएको हो । 

उत्खननले प्राचीन इनार र भग्नावशेषहरू पत्ता लागेकाले यसले देवदहको खोजीका लागि महत्त्वपूर्ण प्रमाण फेला पारेको कोषाध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले स्थानीयले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताए पनि उत्खननले प्राचीन क्षेत्रको रूपमा पुष्टि गरेको उल्लेख गर्नुभयो । 

देवदहको खोजीका लागि निरन्तर उत्खनन् गर्नु पर्नेमा जोड दिनुभयो । देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्त्विक स्थलका रूपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्त्विक स्थलको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन् तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पुरातात्त्विक क्षेत्रको उत्खननलाई निरन्तरता दिने उल्लेख गरेको छ ।  

उत्खननबाट प्राप्त भएका पुरातात्त्विक वस्तुलाई संरक्षण गर्न सङ्ग्रहालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलको भनाइ छ । लुम्बिनी विकास कोषका पुरातत्त्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातत्त्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिनुभएको थियो । 

यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्त्व विभागले भवानीपुरमा उत्खनन् गरेको थियो । कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको थियो ।