• ४ जेठ २०८२, आइतबार

सत्ता अहिले एमालेको प्राथमिकतामा छैन : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असार २३ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टी सत्तालाई प्राथमिकता नदिएको बताउनुभएको छ । महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको दाबी गर्नुभयो । 

एमाले रामेछाप–काठमाडौँ सम्पर्क मञ्चको शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । बलियो राजनीतिक शक्ति निर्माण गरेर मात्रै मुलुक बनाउन सकिने निष्कर्षसहित सो काममा आफ्नो पार्टी लागि परेको प्रष्ट पार्नुभयो । मुलुकमा अहिले कमजोर राजनीतिक शक्ति माओवादी केन्द्रलाई सरकारको नेतृत्व मानेर अघि बढ्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न पनि एमालेले चुनावलगत्तै आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा स्थापित गराउने गरी मिसन ग्रासरुट अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो । 

महासचिव पोखरेलले कमजोर राजनीतिक शक्तिहरूले नेतृत्व लिँदा मुलुकको अवस्था कमजोर भएकाले एमालेले त्यसबाट मुलुकलाई पार लगाउने गरी आफ्नो पार्टीलाई बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गराउन चाहेको उहाँको भनाइ छ । जनादेश विपरीत कमजोर राजनीतिक शक्तिलाई सरकारको नेतृत्व दिने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न आफूहरू क्रियाशील रहेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “आज नेपालको राजनीतिमा हेर्नु हुन्छ भने जो कमजोर छ, त्यसले शासनको नेतृत्व गरिरहेको छ । के जनताको जनादेश त्यही हो र ? प्रतिनिधिसभामा हेर्नु हुन्छ भने नेपाली काँग्रेस पहिलो दल हो । एमाले दोस्रो दल हो । माओवादी धेरै तल तेस्रो दलको रूपमा छ ।” 

जति धेरै राजनीतिक दलहरू, त्यति धेरै नीतिगत विचलन  हुन्छ । 

नेपाली समाजमा राजनीतिक ध्रुवीकरण हुन नसकेको उहाँको भनाइ छ । बलियो राजनीतिक दलहरू, जो राष्ट्रका लागि आवश्यक छन्, त्यस आधारमा उनीहरू बलिया हुन सकेनन् । यो मान्यताको आधारमा कमजोर शक्तिले शासन गर्ने र हरदम सम्झौता गर्ने, नीतिगत सम्झौता गर्ने जुन प्रकारको अवस्था छ, त्यो अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको उहाँले बताउनुभयो । “त्यस अर्थमा मैले भन्ने गरेको छु– जति धेरै राजनीतिक दलहरू, त्यति धेरै नीतिगत विचलन  हुन्छ । जति धेरै राजनीतिक दलहरू, त्यतिधेरै राजनीतिक अस्थिरता । जति धेरै राजनीतिक दलहरू, त्यतिधेरै वैदेशिक चलखेल हुन्छ” महासचिव पोखरेलले भन्नुभयो । 

धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दल आवश्यक रहेको उहाँको भनाइ छ । अहिले एमालेका लागि सत्ता प्रधान नभई राष्ट्रको भविष्य प्रधान भएको उहाँले प्रष्ट पार्नुभयो । महासचिव पोखरेलले नीति, सिद्धान्त र सङ्गठनबिनाका नयाँ राजनीतिक शक्तिहरूले मुलुकको नेतृत्व लिन नसक्ने जिकिर समेत गर्नुभयो ।