• २१ वैशाख २०८१, शुक्रबार

विद्यार्थीलाई परम्परागत धिमाल महिलाको गहना प्रदान

blog

धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै पोशाक वितरण । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, असार २२ गते । झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिकको रुपमा मान्यता दिएको धिमाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोषाक वितरण गरेको छ । स्थानीय धिमाल महिलाको समुहलाई लक्षितगरी लोप हुँदैगएका परम्परागत चाँदीका गरगहना विद्यार्थीलाई प्रदान गरेको हो । 

नगरपालिकाको जाम्बुझार ग्रामथानमा नगरप्रमुख रामकुमार थापा र उपप्रमुख रेगिना भट्टराईले उनीहरुलाई सो सामग्री हस्तान्तरण गर्नुभयो । कक्षा ८ सम्म अध्ययन गर्ने स्थानीय २५ जना बिद्यार्थीलाई दूई जोरका दरले पोशाक, स्कुल ब्याग, एक जोर जुत्ता र किताव,  कापीसेट उपलब्ध गराइएको नगर उपप्रमुख भट्टराईले बताउनुभयो ।

नगरपालिकाले गठन गरेको प्रथम नागरिक धिमाल ब्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर धिमालका अनुसार नगरपालिकाले समितिको मातहतमा रहनेगरी धिमालका परम्परागत गरगहना उपलब्ध गराएको छ । धिमाल महिलाले लगाउने चाँदीको चन्द्रहार, विसमाला, गोसमाला, टाकाहारी र कल्ली दुई सेटका दरले उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो ।

हराउँदै गएका परम्परागत गरगहना बनाउन ४ लाख रुपियाँ खर्च भएको दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख केशब प्रसाइँले बताउनुभयो । धिमाल समुदायका नयाँ पुस्ताले आफ्नो मौलिक गरगहना बिर्सदै जाने भएकाले त्यसलाई जिवन्त राख्न समितिलाई गरगहना उपलब्ध गराइएको समेत उहाँको भनाइ छ ।