• २१ वैशाख २०८१, शुक्रबार

खोलाको बगरदेखि घरको छतसम्म ड्रागन खेती

blog

किसोर भण्डारीको बारीमा फल्दै गरेको ड्रागन । तस्बिर : कबिराज घिमिरे

कबिराज घिमिरे

हिले, असार २२ गते । धनकुटा नगरपालिका –७ त्रिवेणीचौकका बिमला सन्तोषी राईले आफ्नो घरको छतभरी ड्रागन फल रोप्नुभएको छ । उहाँले छतमै करिब ३५० बोट ड्रागन फल लगाउनुभएको हो । 

शिक्षण पेशामा आबद्ध उहाँको बिहान–बेलुकीको बचेको समय घरकै छतमा रहेको ड्रागन खेतीमा बित्ने गरेको छ । “कोरोनाले बिद्यालय बन्द भएको बेलामा हामीले घरमै रहेर युट्युबमा हेरेर घरको छतमा पनि हुने रहेछ जानकारीपछि सुरु गरेको हुँ” उहाँले भन्नुभयो । उहाँहरुले तमोर नदीको किनारमा रहेको कुसेटारमा समेत करिब एक हजार बोट ड्रागन फल लगाउनुभएको छ ।

धनकुटा नगरपालिका –९, छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको बगरमा ड्रागन फलको खेती सुरु गर्नुभएको बर्ष बित्यो । अहिले ६ रोपनी क्षेत्रफलमा करिब १२०० बोट ड्रागन फल लगाउनुभएको छ । 

वरिपरि आँप छन्, तर भण्डारीले आँपभन्दा ड्रागनमा आम्दानी तथा भबिश्य राम्रो भएको भन्दै ड्रागन खेती सुरु गरेको बताउनुभयो । वालुवा भएको करिब ५० क्षेत्रफलमा ड्रागन परोप्ने उहाँको तयारी छ । काठ ब्यबसाय गर्दै आउनुभएका भण्डारी पछिल्लो समय ड्रागन खेतीतर्फ लाग्नुभएको छ । 

खोलाको बगर बालुवा भएको ठाउँमा अन्य खेतीभन्दा ड्रागन खेती नै भरपर्दो हुनेभएकाले यसको खेती सुरु गरिएको उहाँको भनाइ छ । जताततै बालुवा मात्र छ, के हुन्छ भनेर बुझ्दा ड्रागन हुने थाहा पाएपछि यसको खेती सुरु गरेको भण्डारीले बताउनुभयो । 

पछिल्लो समय धनकुटामा नयाँ र आगन्तुक फलको खेती गर्नेक्रम बढ्दो छ । एभोकाडो, किबी फललगायतका नयाँ प्रजातिसँगै धनकुटामा ड्रागन फल पनि भित्रिएको छ । अहिले धनकुटामा खोलाको बगरदेखि घरको छतसम्म ड्रागन खेती गरेको देख्न पाइन्छ । 

भण्डारी र राईजस्तै धनकुटामा अहिले धेरै बगर, सुख्खा तथा घरको छतमा ड्रागन फल देख्न पाइन्छ । दक्षिण अमेरिकामा लोकप्रिय ड्रागन फलको खेती ड्रागन फलको विरुवा रोपेको एक वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा २० किलो फल दिन्छ । 

धनकुटाका सुख्खाग्रस्त क्षेत्र तथा फराकिलो छत यसको लागि उपयुक्त हुने कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले बताउनुभयो । धनकुटामा ड्रागन फलको खेती भने २०७६ सालवाट सुरु भएको मानिन्छ । धनकुटा नगरपालिका –८ सान्ताङ्ग निवासी किसान अमर राइले सुरु गर्नुभएको थियो । 

पछिल्लो समय धनकुटामा धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकामा यसको खेती हँुदैआएको छ । क्याक्टस प्रजातिको यो फल रुखोपाखो बारीमा समेत राम्रोसँग खेती गर्न सकिने केन्द्रको भनाइ छ । ड्रागन फलमा १४ प्रकारका मिनरल्स तथा भिटामिन पाइने जानकारहरु बताउँछन् । 

यो फललाई कच्चा पदार्थको रूपमा प्रयोग गरी जेली, जाम, जुस, वाइन, आइसक्रिम, मञ्जन लगायत उत्पादन समेत गर्न सकिने कृषि अभियानता जिवनप्रसाद राईले बताउनुभयो ।