• २१ वैशाख २०८१, शुक्रबार

रेड पाण्डाको गणना गर्नुपर्नेमा जोड

blog

गत जेठ पहिलो साता पाथीभरा क्षेत्रको वनमा भेटिएको रेड पाण्डा (हाब्रे) ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असार २२ गते । विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा रहेको रेड पाण्डा (रातो हाब्रे) को गणना गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । रेड पाण्डाको पछिल्लो अवस्थाबारे जानकारी लिनका लागि गणना (तथ्याङ्क सङ्कलन) गर्नुपर्ने आवश्यक भएको सरोकारवालाले जोड दिएका हुन् ।

ताप्लेजुङमा रेड पाण्डा संरक्षणको कार्य गर्दै आएको हिमाली संरक्षण मञ्चले फुङ्लिङमा शुक्रबार आयोजना गरेको कार्यक्रमका सहभागीले रेड पाण्डाको गणना नगरे यसको संरक्षणमा गरिँदै आएको क्रियाकलापले पूर्णता नपाउने बताएका छन् । आजभन्दा दश वर्षअघिको तथ्याङ्कका आधारमा गरिने गतिविधिहरु रेड पाण्डाको संरक्षणको कार्यमा अपूर्ण हुने सरोकारवालाको भनाइ छ । 

जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले तथ्याङ्कका आधारमा योजना बनाएर गरिने कामले मात्र चाहेजस्तो नतिजा दिने बताउनुभयो । ओझाले रेड पाण्डाको सङ्ख्या र पछिल्लो अवस्था कस्तो रहेको छ भन्ने जानकारी नभई संरक्षण सम्बन्धी गरिने कार्यबाट उपलब्धी नहुने बताउनुभयो ।

कार्यक्रमका अर्का सहभागी गैर सरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष खड्ग विक्रम सुवेदीले पनि रेड पाण्डाको गणना गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सडक लगायतका पूर्वाधार निर्माणका नाममा हुँदै आएको वन विनाश, भू–क्षय र मानव गतिविधिले दुर्लभ वन्यजन्तु रेड पाण्डाका लागि कस्तो असर परिरहेको छ भन्ने थाहा पाउनका लागिसमेत रेड पाण्डाको गणना गर्न आवश्यक रहेको सुवेदीले बताउनुभयो ।  

बैठकका अधिकांश सहभागीले रेड पाण्डा संरक्षणको क्रियाकलापसँगै तथ्याङ्क सङ्कलन गर्नुपर्नेमा जोड दिएका छन् । रेड पाण्डाको सङ्ख्या र ताजा अवस्था स्थितिबारे जानकारी राखेर गरिने संरक्षणका क्रियाकलाप मात्र प्रभावकारी हुने सरोकारवालाको भनाइ छ । रेड पाण्डाको संरक्षण सम्बन्धी काम गर्दै आएको संस्थाहरुले अब सङ्ख्या गणनाको योजना बनाएर कार्यान्वयन गर्न सरोकारवालाले सुझाव दिएका छन् ।

यता बैठकमा हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले रेड पाण्डा संरक्षण सम्बन्धी हुँदै आएको क्रियाकलापबारे जानकारी गराउनुभएको छ । संयोजक राईका अनुसार रेड पाण्डा पाइने क्षेत्र फुङ्लिङ नगरपालिकासहित विभिन्न सात स्थानीय तहका १३ वटा वडामा कार्यक्षेत्र बनाएर संरक्षणसम्बन्धी क्रियाकलाप गरिँदै आएको छ । रेड पाण्डा नेटवर्कको आर्थिक सहयोगमा रेडपाण्डा संरक्षणलाई लक्षित गरी समुदायमा आधारित हाब्रे संरक्षण तथा पर्यापर्यटन कार्यक्रम गर्दै आएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार रेड पाण्डाको अध्ययन तथा अनुगमन, शिक्षा तथा जनचेतना, दिगो जीविकोपार्जन र पर्यापर्यटन प्रवद्र्धनसँग सम्बन्धित कार्यहरु हुँदै आएका छन् । 

रेड पाण्डा संरक्षणमा टेवा पु¥याउन बासस्थान, आहारा (खुराक) व्यवस्थापन साथै अन्य वन्यजन्तुबाट हुने आक्रमण नियन्त्रण सम्बन्धी क्रियाकलापहरु गरिहेको मञ्चले जनाएको छ। त्यस्तै रेड पाण्डा संरक्षणका लागि जनचेतना फैलाउन समुदायलाई अभिमुखीकरण, रेडपाण्डाबारे पुस्तक प्रकाशन गरी विभिन्न सामुदायिक विद्यालयमा पठनपाठन गर्ने कार्य पनि भइरहेको छ ।

रेड पाण्डा संरक्षणको क्रियाकलापमा सन् २०२२ का लागि कार्यक्रम बजेट कुल एक करोड ५१ लाख १५ हजार २०९ रुपियाँ रहेको थियो । चालु वर्ष अर्थात सन् २०२३ का लागि भने दुई करोड छ लाख ९८ हजार ३६५ रुपियाँ बजेट रहेको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । रेड पाण्डा संरक्षणको कार्यसँगै थोरै बजेटले हिउँचितुवा संरक्षण सम्बन्धी पनि काम गर्ने मञ्चले जनाएको छ ।

बैठकमा रेड पाण्डा संरक्षणसम्बन्धी क्रियाकलाप गर्दा सम्बन्धित स्थानीय तह र वडासँग समन्वय गरेर काम गर्न प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले संस्थालाई सुझाव दिनुभयो । कामका सिलसिलामा कुनै पनि बेला समस्या आउनसक्ने भएकाले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर कार्यक्रम कार्यान्वयन गर्दा राम्रो हुने प्रजिअ चेम्जोङको भनाइ छ । यस्तै फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पनि स्थानीय तहसँगको समन्वयमा गरिने काम प्रभावकारी हुने बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले समन्वय र सहकार्यमा गरिने कामले मात्र सोचेअनुसार नतिजा दिने बताउनुभयो । लामाले औपचारिक बैठक वा कार्यक्रममा मात्र नभई जुनसुकै समयमा अनौपचारिक रुपमासमेत छलफल, परामर्श गरेर काम गर्न सकिने बताउनुभयो । उहाँले हालसम्म लोपोन्मुख जीवजन्तुको संरक्षण संस्थाले गर्दै आएको योगदानको प्रशंसा समेत गर्नुभयो ।

रेड पाण्डाको तथ्याङ्क सङ्कलन कार्य रेड पाण्डा नेटवर्कले आजभन्दा १० वर्षअघि सन् २०१३ को गरेको बताइएको छ । त्यस बेलाको तथ्याङ्क अनुसार ताप्लेजुङमा मात्र ७७ देखि १३४ वटासम्म रेडपाण्डा रहेका थिए । सन् २०१३ पछि रेड पाण्डाको गणना वा तथ्याङ्क सङ्कलन र अध्ययन गर्ने कार्य नभएकाले हालको सङ्ख्या र अवस्थाबारे कुनै जानकारी छैन। उता सरोकारवालाको सझावअनुसार आगामी दिनमा कार्यक्रम बनाउने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बाले बताउनुभयो ।