• ८ मंसिर २०८१, शनिबार

मन्त्री मोदीसँग सेमाउलका अध्यक्ष हुनबीच शिष्टाचार भेटवार्ता

blog

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गर्नु हुँदै । तस्बिर: मन्त्री मोदीको सचिवालय

दक्षिण कोरिया, असार २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र दक्षिण कोरियाली ग्रामीण विकास कार्यक्रम (सेमाउल)का अध्यक्ष ख्वाक डे हुनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

सेमाउलले कोरियाको बुसानमा आयोजना गरेको विश्वका मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन यहाँ आइपुगेका मन्त्री मोदीसँग अध्यक्ष डे हुनले शिष्टाचार भेटवार्ता गरेका हुन् । 

भेटका क्रममा सेमाउल मोडललाई नेपालमा पनि विस्तार गर्ने सम्बन्धमा कुरा भएको मन्त्री मोदीको सचिवालयले जनाएको छ । सेमाउल जनताको आफ्नै श्रम र सहभागितामा न्यून लगानीमा नमुना गाउँ निर्माण गर्ने एउटा विशेष खालको मोडल हो । 

भेटमा सेमाउलका अध्यक्ष ख्वाक डे हुनले नमुना गाउँ निर्माणका लिग समोउलमार्फत् आवश्यक सहयोग गर्ने वचनबद्धता व्यक्त गरे । जनताको जागरूकता र जागरणमा नमुना गाउँ निर्माण गर्ने आफूहरूको प्राथमिकता भएकाले त्यहीअनुसार सेमाउलले नेपाललाई सहयोग गर्ने बताउनुभयो । 

मन्त्री मोदीले सेमाउल र कोरिया सरकारमार्फत नेपालको विकास निर्माण लगायतका क्षेत्रमा गर्न सक्ने सहयोगका लागि समेत सेमाउलका अध्यक्ष डे हुनमार्फत अपिल गर्नुभएको छ । “सेमाउल र कोरिया सरकारमार्फत नेपालको विकास र अन्य समग्र क्षेत्रको सहयोगका लागि म विशेष अपिल गर्न चाहन्छु” मन्त्री मोदीले भने, “सेमाउल मोडल हाम्रा देशका लागि पनि अनुकरणीय छ, जनताको श्रम सहभागिताबाट नमुना गाउँ निर्माण गर्ने यो अभियानको थप विकास र विस्तारमा हामी सदैव यहाँहरूसँगै रहनेछौँ ।”

सेमाउल मोडल नेपालजस्तो मुलुकका लागि प्रेरणाको स्रोत भएको समेत मन्त्री मोदीको भनाइ थियो ।