• १९ वैशाख २०८१, बुधबार

मनसुनसँगै पहिरोको जोखिम

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार २२ गते । भूक्षय र जलजन्य प्रकोपका दृष्टिकोणले प्रदेशकै जोखिमयुक्त जिल्ला ओखलढु्ङ्गामा मनसुन सुरु भएसँगै पहिरोको जोखिम बढेको छ। केही दिनयता मनसुन सक्रिय भएसँगै जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको हो। 

यही असार ७ गते राति परेको वर्षाका कारण गएको पहिरोमा पुरिएर विलन्दुमा एकै परिवारका चार जनाको मृत्यु भयो। चम्पादेवी गाउँपालिका–८, विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा गुरुङसँगै उहाँकी २९ वर्षीय श्रीमती शिवमाया गुरुङ, १० वर्षीय छोरा दिनेश गुरुङ र १८ महिनाकी छोरी कृतिकाको मृत्यु भएको थियो। गाउँभन्दा माथिबाट आएको पहिरोका कारण अन्य १० घर उच्च जोखिममा परेका छन्। विलन्दुको गुरुङगाउँ स्थान्तरणको काम भइरहेको छ। 

२०७२ सालको भूकम्पका कारण गाउँभन्दा माथिको भू–भाग चर्किएको र सोही धाँजा फाटेको ठाउँबाट पहिरो झरेर जनधनको क्षति भएको छ। उक्त गाउँ विगत देखिनै पहिरोको उच्च जोखिममा रहेको भनिएको थियो। करिब सात वर्षअघि गरिएको एक सर्वेक्षण अनुसार ओखलढुङ्गामा १४६ वटा मानव बस्ती पहिरोको जोखिममा देखाएको थियो। 

तत्कालीन जिल्ला भू–संरक्षण कार्यालय ओखलढुङ्गाले गरेको सर्वेक्षणमा ठुला साना गरेर १४६ पहिरोका कारण जिल्लाभर पहिरोको जोखिम रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। विभिन्न अध्ययनले ओखलढुङ्गा जलजन्य प्रकोप र भू–क्षयका दृष्टिकोणले जोखिममा रहेको देखाएका छन्। जिल्लाको विलन्दु, वर्णालु, विगुटार र सल्लेरी बाढी पहिरोको उच्च जोखिममा छन्। गाम्नाङ्गटार, पोकली, रगनी, खिजीचण्डेश्वरी, खिजीकातीको लम्चेर, माम्खा, हर्कपुर, प्राप्चा केउरेनी, मूलखर्क, यसम, कालिका, विलन्दु, पोकली, खिजीफलाटे, खिजीचण्डेश्वरी, वाक्सा, च्यानाम, फेदीगुठलगायतका क्षेत्र पहिरोको जोखिममा रहेको जिल्ला विपत् प्रतिकार्य योजनाको प्रतिवेदनमा उल्लेख छ।

जिल्लाका सरकारी कार्यालयमा विपत् जोखिमको सम्भावित तथ्याङ्क र जोखिम न्यूनीकरणको पूर्व तयारी गरिएको पाइँदैन्। विगतमा कार्यालयले अध्ययन गरेर यकिन तथ्याङ्क निकाल्ने गरिए पनि अहिले त्यो जिम्मेवारी स्थानीय तहको भएकाले कार्यालयमा विवरण नरहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय ओखलढुङ्गाका प्रमुख टोपबहादुर श्रेष्ठले बताउनुभयो। यद्यपि स्थानीय तहसँग समन्वय गरेर तथ्याङ्क लिने र पहिरो नियन्त्रणको काम गरिने उहाँको भनाइ छ।